मुख्यमन्त्रीकै जिल्लामा छैन अक्सिजन

कालीकोटः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीकै जिल्लामा अक्सिजनको चरम अभाव भएको छ ।
कालीकोटमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा अक्सिजन अभाव भएको हो । जिल्लामा अक्सिजनको अभावका कारण कोभिड अस्पतालले अक्सिजन चाहिने विरामीलाई जुम्ला रेफर गर्न सुरु गरेको छ । कालीकोटमा अहिले अक्सिजनको अभाव छ । जटिल प्रकारका विरामीलाई समयमै रेफर गर्नु पर्ने बाध्यता भएको कोभिड अस्पतालका संयोजक डा. राजकमल कार्कीले बताए । नरहरिनाथ गाउँपालिका–९ का ४१ वर्षका पुरुष र तिलागुफा नगरपालिकाकी ६१ वषिया महिलालाई जुम्ला रेफर गरिएको कार्कीले जानकारी दिए ।
जिल्लामा अक्सिजनको चरम अभाव भएका बेला कालीकोट जिल्लाका नागरिकले मुख्यमन्त्री पाएपनि अक्सिजन पाएका छैनन् । यस्तो अवस्थामा प्रदेश सरकार आफ्ना नागरिकको ज्यानको रक्षामा केन्द्रित हुनुपर्नेमा मन्त्रलाय खेड्नमै व्यस्त रहेको देखिन्छ । अहिले कालीकोटका स्वास्थ्य चौकीहरुमा कोरोनाका विरामी दिनप्रतिदिन बढ्दै गएका छन् । जिल्लामा १ सय ४ थान मात्र अक्सिजन सिलिण्डर छन् । ती सिलिण्डर पनि रित्तो छन् ।

मुख्यमन्त्री मन्त्रालय खेड्नमै व्यस्त
कोरोना महामारीका बेला कालीकोटमा संक्रमितहरु स्वास्थ्योपचार नपाएर छट्पटि रहेको बेला कर्णाली प्रदेशका मुख्यमन्त्री शाही मन्त्रालय आफुसंग राख्नमै व्यस्त छन् । कर्णाली प्रदेशमा नै अहिले अक्सिजनको अभावमा अस्पतालले विरामी भर्ना नलिने सूचना प्रकाशित गरिसकेको बेला पनि कर्णालीका मन्त्रीको ध्यान आफ्नो सत्ता र भत्ता पचाउने दाउमा नै छ ।
अहिले नयाँ भेरियन्ट सहितको कोरोना भाईरस कोभिड (१९) को संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि जिल्ला त्रसित बनेको छ । अहिले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन अत्यावश्यक भइरहेको अवस्थामा जिल्लामा अक्सिजनको अभाव देखिएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले महामारीका बेला नागरिकको ज्यान बचाउन भन्दा पनि मन्त्रालय पचाउनमा व्यस्त देखिएको जानकारवाला बताउछन् । अहिले सवै भन्दा बढी नागरिकको जिवनरक्षामा ध्यान जान पर्ने बेलामा मन्त्रालयमै बढी केन्द्रीत भएका छन्, मुख्यमन्त्री शाही । उनले कर्णाली प्रदेशका ५ मन्त्रालय आफैँसंग राखेका छन् ।
उनले आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीलाई राजीनामा गर्न लगाएर सबै मन्त्रालय आफैँसँग राखेका हुन् । मुख्यमन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला कानुन युवा तथा खेलकुद मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय आफैँसँग राखेका छन् । तर उनको ध्यान नागरिकको उपचारमा गएको छैन ।
बरु कर्णाली सरकारले कोरोनाका कारण निधन भएका मृतकका आफन्तलाई १ लाख रुपैया राहत सहयोग गर्ने निर्णय गरेको छ । सो निर्णयको कालीकोटका नागरिकले चर्को आलोचना गरेका छन् । धेरै नागरिकले बरु विरामीलाई दिनु मृत्यु भइसकेपछिको १ लाख चाहिदैन भन्दै सरकारको आलोचना गरेका छन् ।