जरिवानाको सट्टा १ मास्क उपहार

कालीकोटः मान्ममा व्यापारको सिलशिलामा आउने नागरिकको सहजताका लागि मनकारी सुनारले मास्क हस्तान्तरण गरेका छन् ।
मान्म बजारमा लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका मालिका ज्वैलर्सका संचालक विरेन्द्र सुनारले कामको सिलशिलामा मान्ममा मास्कको प्रयोग नगरी आउने नागरिकलाई प्रहरीले १ सय जरिवाना गराउने भएकाले त्यो जरिवाना रोक्नका लागि प्रहरीहरुको सहयोग लिएर ५ सय थान मास्क सहयोग गरेका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा मास्क हस्तान्तरण गरिएको सदरमुकामको प्रतिमा चौकमा २ सय थान, जिप्रकामा १ सय थान र जिरोप्वाइन्टमा २ सय थान मास्क सहित एक एक वटा सेनिटाईजर नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज विष्टले हस्तान्तरण गरेका हुन् । मास्क हस्तान्तरण गर्दै कोरोना रोकथामा सवैको सहकार्य आवश्यक रहेको अध्यक्ष विष्टले बताए ।
नेपाल पत्रकार महासंघ कालिकोट शाखाको पहल र सहयोगी सुनारको सहयोगमा मान्म बजारमा मास्क बिनै हिँड्ने सर्वसाधारणलाई एक सय रुपैयाँ जरीवानाको ठाउँमा प्रहरी मार्फत निःशुल्क मास्क दिन ५ सय थान मास्क प्रहरीलाई दिइएको छ । गाउँवाट जिल्ला सदरमुकाम मान्ममा आएका सर्वसाधरणले मास्क बिनै बजारमा हिँडडुल गर्ने गरेको जानकारीमा आएपछी उनीहरुको समस्यालाई मध्यनजर गरी नेपाल पत्रकार महासंघको पहलमा मास्क दिइएको हो ।
गाउँमा मास्क पाईदैन, गाउँबाट सदरमसकाम मास्क नलगाएर आए प्रहरीले जरिवाना काट्थ्यो, अब मास्क नलगाएर गाउँबाट आउने नागरिकहरुलाई जरिवाना नकाटि प्रहरिले मास्क दिने भएको छ ।