राष्ट्रिय प्रशारण लाईनमा जोडियो कालीकोट

कालीकोटः जिल्ला राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । लामो समयपछि कालीकोट जिल्ला सदरमुकामा राष्ट्रिय प्रशारण लाईनमा जोडिएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तत्कालीन उर्जा मन्त्री हुदा गरेका निर्णयले सार्थकता पाएको छ । मुख्यमन्त्री शाहीलेको पहलमा कालीकोटमा राष्ट्रिय प्रशारण लाईन विस्तार भएको छ । स्थानीय स्तरमा निकालिएका केही स–साना जलविद्युत् आयोजनाले जिल्लाका सबै क्षेत्रको माग धान्न नसकेको बेला कालीकोट राष्ट्रिय प्रशारण लाईनमा जोडिदा नागरिकमा उत्साह जागेको छ ।
जिल्लामा रहेको एक मात्र पोतमारा जलविद्युतको नहर पहिरोले बगाउदा गत असारबाट बन्द भएको थियो । मुख्यमन्त्रीकै निदेशनमा सदरमुकाम मान्मलाई जेनेरेटरबाट भएपनि विहान बेलुका बत्ति दिने गरिएको भए पनि राष्ट्रिय प्रशारण लाईन जोडिदा अव अन्धकारमा बस्नु पर्ने बाध्यता हट्ने नागरिकको भनाई छ । राष्ट्रिय प्रशारण लाइनमा जोडिएला र उज्यालोको अनुभूति गरौंला भन्ने वर्षौंदेखिको आशा, पुरा भएको स्थानीयले बताएका छन्् ।
पोतमारामा ५०० किलोवाटको पोतमारा लघु जलविद्युत् आयोजनाको पावर हाउसमा समस्या आएपछि अहिले कालीकोटबासी अन्धकारमा बस्न बाध्य भएका थिए । अव यहाँका नागरिकको उज्यालोमा बस्ने धोको पुरा भएको हो ।