८ बैशाख २०८१, शनिबार

दार्चुलामा सीमानाका सुरक्षाविहीन


दार्चुला । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीय बसाइँ नसर्दै प्रहरी चिसो छल्न छांगरु झरेको हो ।

कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिपातसँगै तिंकरको छायाँलेकस्थित प्रहरीहरू छांगरु झरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

हिमपातका कारण अत्यधिक जाडो बढेर पानीसमेत खान नसकिने अवस्था भएपछि प्रहरी अहिले छांगरुमा बसेको जनाइएको छ। अहिले छांगरु र तिंकर प्रहरी नीतिकुण्डमै बसेका छन् ।

त्यहाँका बासिन्दा आगामी मङ्सिर पहिलो साता मात्रै सदरमुकाम खलङ्गा बसाइँसराइ (कुञ्चा) गर्ने तयारी भएको व्याँस गाउँपालिका–१ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिए ।

‘बढी हिमपात भयो भने यो महिनाभित्रै कुञ्चा सर्ने सम्भावना छ, अस्ति दुईपटक हिमपात हुँदा आधा फिट हिउँ जमेको थियो’, उनले भने ।

तिंकरमा रहेका प्रहरी जाडोयाममा बर्सेनि नजिकका अन्य युनिटमा सर्ने गर्छन् । अहिले प्रहरीका लागि छांगरु नीतिकुण्डमा पक्की भवन बनाउन सुरु गरिएको छ ।

तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी) को भवन यस वर्ष बनाइएको छ । तर सशस्त्र प्रहरीले बस्न सुरु गरेका छैनन् । चीनसँग जोड्ने मार्गमा रहेको प्रहरी चौकी भवन सुविधासम्पन्न नहुँदा सुरक्षाकर्मी त्यहाँ बाह्रैमास बस्न सक्दैनन् ।

छांगरुमा सशस्त्र प्रहरीको नम्बर ५० गुल्म छ । गुल्मका लागि गत वर्ष भवन निर्माण सुरु भए पनि अधुरै छ ।

सशस्त्रले अहिले भाडाको घरमा बसेर ड्युटी गरिरहेका छन् ।

यहाँका बासिन्दा चिसो छल्न ६ महिना सदरमुकाम खलङ्गा र गर्मी छल्न ६ महिना व्याँसको छांगरु तिंकर उक्लिने गर्छन् ।

उनीहरू नेपालतिर आउन बाटो नभएपछि हरेकपटक भारतीय बाटो हुँदै बसाइँसराइ गर्ने गरेका छन् । रासस