८ बैशाख २०८१, शनिबार

अवरुद्ध त्रिवेणी–ताम्ती सडकको ट्रयाक खोलियोे


जुम्ला । जाजरकोट सडकको त्रिवेणी–ताम्ती खण्डको सडक ट्रयाक खोल्ने काम सकिएको छ । कात्तिक पहिलो साता भएको वर्षासँगै आएको बाढीले कटान गरेपछि उक्त सडक खण्ड पूर्णरुपमा अवरुद्ध थियो ।
बाढीले जुम्ला–जाजरकोट सडकको करिब २० किलोमिटर सडकमा क्षति गरेको थियो । करिब ४ सय मिटर सडक बाढीले कटान गरेको थियो । सडक डिभिजन जुम्लाले आफ्नै कर्मचारी परिचालन गरी डोजर भाडामा लिएर बाढीले कटान गरेको ४ सय मिटर सडकको साइडबाट ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ ।
त्रिवेणीदेखि ताम्तीसम्मको ४ सय मिटर कटान भएको सडकमा ग्याविन पर्खाल निर्माण गरिने भएको छ । कटान भएको ४ मिटर क्षेत्रमा ग्याविन पर्खाल निर्माणका लागि गत आवको २ करोड बचत रकमबाट ठेक्का आह्वान गरिएको छ ।
भेरीखोला क्षेत्रका नागरिकको आवतजावत सहज गर्न तथा खाद्यन्न ढुवानी गर्नका लागि बाढीले कटान गरेको सडक निर्माणलाई सडक डिभिजनले द्रूर्त गतिमा अघि बढाएको इन्जिनियर भण्डारीको भनाइ छ ।
टोप्लासम्म ट्रयाक खोल्ने काम सकिएको र अब चाँडै ग्याबिन पर्खाल निर्माणको कार्य अघि बढाइने सडक डिभिजन जुम्लाले जनाएको छ । त्यसका साथै नाग्म गमगडी सडकको १० किमी सडक कालोपत्रे गर्ने काम पनि अघि बढेको छ । बाढीले कटान गरेको सडक निर्माण कार्य द्रूर्त गतिमा अघि बढेपछि टोप्ला, ताम्ती, सर्मी, क्षेत्रका नागरिक खुसी भएका छन् । भविष्यमा आउने सक्ने बाढीलाई मध्य नजर गर्दै दीर्घकालिन गुणस्तरीय सडक निर्माणमा जोड दिएका छन् ।