८ बैशाख २०८१, शनिबार

‘अन्तर्जातीय विवाह गरेको भन्दै माइती पक्षद्धारा अपहरण गरि बेपत्ता’



सुर्खेत । अन्तर्जातीय विवाह गरेको भन्दै हुम्लाको एक युवकलाई केटीको माइती पक्षले निर्घात कुटपिट गर्दै अपहरण गरि बेपत्ता बनाएको परिवारको आरोप छ । सर्केगाड गाउँपालिका वडा नम्वर १ को जैर गाउँका १९ वर्षीय चन्द्रे कामीलाई केटी पक्षले नै बेपत्ता बनाएको उनका बुबा धनजय कामीले बताए ।

चन्द्रले मुगुको सोरु गाउँपालिका वडा नम्वर ४ लिपु गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तर्जातीय विवाह गरेकै कारण केटी पक्षकाले आफ्नो घर तोडफोड गरि छोराबुहारीलाई नै अपहरण गरि लगेको पीडित चन्द्रेका बुवा धनजयले गुनासो गरे ।

‘छोराले गत मंसिर ५ गते मल्लको घरबाट भागी विवाह गरेर आफ्नो घरमा ल्यायो । मंसिर २९ गते राती केटी पक्षका करीब १५ देखि २० जनासम्मको समुहले छिमेकी घरहरुमा ताला लगाई आफ्नो घरको ढोका, झ्याल र छतको दाँतीहरु फाल्दै घरपरिवारलाई निर्घात रुपमा कुटपिट गरि छोरा र बुहारी दुवै जनालाई अपहरण गरेर लगे’,बुवा धनजय कामीले भने ।

घटना भएलगत्तै आफुले पुस १ गते अर्थात बुधबार नै प्रहरीलाई जानकारी गराएको बताए । घटनाका विषयमा प्रहरीलाई जानकारी आए लगत्तै प्रहरीको टोली घटनास्थलतर्फ खटाएको प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले बताए । उपरिक्षक शर्माका अनुसार महिला माइती घरमै रहेको र पुरुषको खोजिकार्य भइरहेको छ ।