७ बैशाख २०८१, शुक्रबार

जुम्लामा रहेका सत्रखम्बाहरु संरक्षण हुन सकेनन्


जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका– ९ उम्गाडमा रहेका सत्रखम्बाहरु संरक्षणको अभावमा जीर्ण बनेका छन् । ऐतिहासिक महत्व बोकेका खम्बाहरुको संरक्षण नहुँदा जीर्ण बनेका हुन् ।

१७ खम्बामध्ये हाल १३ वटा खम्बा मात्रै सिधा छन् । अन्य चारवटा खम्बा ढली सकेका छन् । खत्रखम्बा रहेको आसपासका नागरिकले संरक्षण नगर्दा खम्बाहरु अलपत्र र जीर्ण बनेको चन्दननाथ नगरपालिका–९ का वडाध्यक्ष मीनवहादुर डाँगीले बताए ।

पाँच भाइ पाण्डले ढुङ्गाको भित्तामा कुदेर विभिन्न आकृति बनाएका खम्बाहरुको इतिहास मेटिएको उनको भनाइ छ । डाँगीका अनुसार स्थानीय नागरिकले संरक्षण नगर्दा खत्रखम्बाहरु जीर्ण बनेका हुन् । सत्रखम्बा रहेका क्षेत्रमा स्थानीयको जग्गा भएकाले केहि खम्बाहरु पर्खालका रुपमा प्रयोग भएका छन भने केहि खम्बा बाटोमा ढलेका छन् । ढलेका खम्बाहरु सिधा नहुँदा खत्रखम्बाको महत्व हराएको वडाध्यक्ष डाँगीको भनाइ छ । उनका अनुसार खम्बाहरुको संरक्षण गर्ने प्रयास भएपनि स्थानीको अवरोधले गर्दा काम हुन नसकेको बताए ।

पुरातात्विक महत्व बोकेका खम्बाहरुको संरक्षण गर्ने प्रयास भएपनि स्थानीयबाट साथ नपाएको उनले सुनाए । ढलेका खम्बाहरु उठाएर सबैलाई एकै तिर राख्ने प्रयास भएपनि स्थानीयको असहयोगले प्रयास असफल भएको उनको भनाइ छ ।

खत्रखम्बाहरुको संरक्षण गर्न सकिएममा उम्गाड क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सकिने उनले बताए । वडाध्यक्ष डाँगीका अनुसार सिधा भएका खम्बाहरुमा विभिन्न प्रकारका आकृति र अक्षरहरु लेखिएका छन् ।

खम्बामा लेखिएका अक्षरहरु मेटिएको र आकृतिहरु प्रस्ट देखिने गरेको डाँगीले जानकारी गराए । उम्गाडका स्थानीयसँग बसेर खम्बाहरुको संरक्षण गर्ने विषयमा छलफल गर्ने वडाध्यक्ष डाँगीले बताए । उनका अनुसार स्थानीयले सहयोग गरेमा ऐतिहासिक महत्व झल्किने गरि सबैले देख्ने ठाउँमा खम्बाहरु राख्ने सोच रहेको सुनाए ।

यता उम्गाडका स्थानीयले नागरिकले सत्रखम्बाहरुको संरक्षणमा स्थानीय सरकारले ध्यान नदिएको आरोप लगाएका छन् । स्थानीय नागरिक मानवहादुर शाहीका अनुसार संरक्षण नहुँदा खम्बाहरु जीर्ण बनेको बताए । स्थानीय नागरिकले खम्बाहरुलाई चौतर्फि घेराबन्दिमा पार्ने काम गरेको उनको भनाइ छ । झण्डै १२ फिट सम्म अग्ला रहेका खम्बाहरु भाँचिएका छन् ।