७ बैशाख २०८१, शुक्रबार

रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन अस्तव्यस्त


रुकुम पूर्व । रुकुमपूर्वमा पुनः हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पहिले परेको हिउँ पूर्ण रूपमा बिलाउन नपाउँदै बिहीबार रातीदेखि पुनः हिमपात भएको हो ।

हिमपातले लेकाली बस्ती सेताम्य भएका छन् । हिमपातसँगै अत्याधिक चिसो बढेको छ ।

पटकपटक हिमपात भएपछि बाली सप्रिने आशाले किसानहरु खुसी भएका छन् । पुसमा बाक्लो हिउँ परेपछि अन्नबाली, फलफूल, जडीबुटी सप्रिने किसानको भनाइ छ ।

सडक अवरुद्ध
बाक्लो हिमपातका कारण यातायात सेवा अवरुद्ध भएको छ । सदरमुकाम रहेको रुकुमकोटदेखि पुथाउत्तरगंगा गाउँपालिका जाने सहिदमार्गमा बाक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको छ ।

यसैगरी रुकुमकोटदेखि बाग्लुङ भएर काठमाडौं जाने मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको पूर्वी यातायात प्रालिका इञ्चार्ज सनम गौतमले बताए ।

यसअघि परेको हिउँ पन्छाएर सडक सञ्चालन भएको केही दिन मात्र भएको थियो । हिउँ अहिले पनि परिरहेकाले जनजीवन अस्तव्यस्त भएको छ ।

वस्तुभाउलाई गोठमै राखिएको छ । सर्वासाधरण घरभित्र आगो तापेर बसिराखिएको पुथाउत्तरगंगा गाउँपालिका–१२ कोलका बहादुर बिकले बताए ।