८ बैशाख २०८१, शनिबार

मदिरा सेवन गरी लेखापाल माथि आक्रमण


कालीकोटः तिलाकर्णाली बहुमुखी क्याम्पस कालीकोटका प्रमुख लक्ष्मणबहादुर सिंहले मदिरा सेवन गरि लेखापाल माथि हातपात गरेका छन् ।
क्याम्पस प्रमुख रहेका सिंहले सोमबार विहान मदिरा सेवन गरि लेखापाल पदमबहादुर विष्टमाथि हातपात गरेको वडाध्यक्ष महाविर पाण्डेले बताए । उनले विहानको समयमा मदिराले लठ्ठ भएका क्याम्पस प्रमुख सिंहले लेखापाल सहित अन्य शिक्षकहरु र स्थानीय नागरिकमाथि पनि हातपात गरेका छन् ।
शिक्षकमाथिको हातपात सहित गालिगलौज समेत गरेको लेखापाल पदमबहादुर विष्टले बताए । उनले भने ‘विहानको समयमा क्याम्पस प्रमुखले कोठामा बोलाउनुभयो, चेकमा हस्ताक्षर विग्रेको थियो, त्यसैले होला सोचे कोठामा नपुग्र्दै लौरीले टाउकामा हिर्काउनुभयो ।’ के कति कारणले हो जानकारी समेत पाउन सकिएन । विष्टले भने ‘पछि बुझ्दै जादा उहाँको पारिवारीक झगडाको रिस हामीमाथि पोख्नु भएछ ।’
विष्टलाई मात्र होइन क्याम्पस प्रमुख सिंहले क्याम्पसमा आएका स्थानीय नागरिकमाथि पनि हातपात गरेका छन् । उनले खाडाचक्र नगरपालिका वडा नं ३ निवासी सर्पराज पाण्डेमाथि हातपात गरेको स्थानीय खगेन्द्र पाण्डेले बताए । जहिले पनि मदिरा सेवन गरेपछि क्याम्पस प्रमुखले गालिगलौज गर्दै आइरहेको उनले बताए । मदिरा सेवन गरेर पति पत्निले एक आपसमा झगडा गरेका थिए, पत्नीले जिल्ला प्रहरी कार्यालय कालीकोटमा उजुरी दिएर घरबाट गएपछि पत्नीको रिस क्याम्पस प्रमुख सिंहले शिक्षकमाथि पोखेको शिक्षकहरुको भनाई छ ।
लेखापाल विष्टलाई हातपात गर्दा आफुहरु छुट्टाउन गएपछि आफुमाथि पनि आक्रमण गरेको शिक्षकहरुको भनाई छ ।

कानुनी कार्वाहीको माग
यता तिलाकर्णाली बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मणबहादुर सिंहले क्याम्पसमा अध्यापन गराउने शिक्षक र स्थानीय नागरिक संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् । तिला कर्णाली बहुमुखी क्याम्पसका लेखापाल पदमबहादुर विष्ट र स्थानीय नागरिकमाथिको हातपातलाई लिएर कानुनी कार्वाहीको माग गर्दै स्थानीय नागरिक र शिक्षक प्रहरी कार्यालय पुगेका हुन् ।


क्याम्पस संचालन हुने समयमा क्याम्पस प्रमुखले मदिरा सेवन गरि जथाभावी गालिगलौज सहित शिक्षकमार्थि हातपात गरेकाले कानुनी कार्वाहीको माग गरिएको छ । क्याम्पसमा अध्यापन गराउने सम्पूर्ण शिक्षकहरुले क्याम्पस प्रमुख सिंहलाई कानुन बमोजिमको कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कालीकोट पुगेका हुन् ।
क्याम्पस प्रमुख जस्तो व्यक्तिले मदिरा सेवन गरि यस्तो गतिविधि गरेको भन्दै अहिले चौतर्फी आलोचना भैरहेको छ । पत्निको रिसले क्याम्पस प्रमुखले शिक्षकमाथि फेरेको नागरिकको आरोप छ ।