८ बैशाख २०८१, शनिबार

३१ वडा रहेको रुकुम पूर्वमा ३५ मतदान स्थल


रुकुम पूर्व । रुकुम पूर्व जिल्लाका मतदान स्थलको संख्या ३५ पुगेको छ । यस अघि जिल्लाभर ३१ मात्रै मतदान स्थल रहेकामा अब भने यो संख्या बढेर ३५ पुगेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचन, २०७५ सालमा भएको प्रदेश तथा संघीय संसदको निर्वाचनमा जिल्लाका ३१ मतदान स्थल मात्रै मतदान गरेका जिल्लाबासीले अब भने ३५ वटा मतदान स्थल मार्फत आफ्नो मत जाहेर गर्नेछन् ।

अब हुने सबै निर्वाचन ३५ मतदान स्थलमा हुनेछन् । जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले पुथाउत्तरगंगा गाउँपालिकामा १ र सिस्ने गाउँपालिकामा ३ वटा मतदान स्थल थप भएको जानकारी दिए । पुथाउत्तरगंगा गाउँपालिकाको १० नम्बर वडा स्थित जनप्रिय आधारभुत विद्यालय घुम्लिबाङमा मतदान स्थल थप भएको छ ।

सिस्ने गाउँपालिकाको २, ४ र ६ नम्बर वडामा पनि मतदान स्थल थप भएको अधिकारी ओलीले जानकारी दिए । २ नम्बर वडाको हिमालय मावि नायगाड, ४ नम्बर वडाको आधारभुत विद्यालय झाँक्रीपोले र ६ नम्बर वडाको आधारभुत विद्यालय खोपिचारमा नयाँ मतदान स्थल कायम भएको छ । मतदाता संख्याका आधारमा निर्वाचनका क्रममा थप मतदान केन्द्र बनाउन सकिने ओलीले बताए ।

माघ २४ गते सम्मको विवरण अनुसार रुकुम पूर्वमा ३४ हजार ८ सय ४४ मतदाता छन् । सवभन्दा बढी भूमे गाउँपालिकामा ११ हजार ८ सय ८५, सिस्नेमा ११ हजार ४ सय ९१ र पुथाउत्तरगंगा गाउँपालिकामा ११ हजार ४ सय ६८ मतदाता छन् । अध्यावधिक गर्ने काम चलिरहेकाले यो संख्या बढ्न सक्ने जिल्ला निर्वाचन अधिकारी ओलीले बताए ।