४ जेष्ठ २०८१, शुक्रबार

कालीकोटमा बढ्यो चुनावी सरगर्मी, नेता गाउँ केन्द्रीत


कालीकोटः सरकारले आगामी वैशाख ३० गते घोषणा गरेको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा माहोल बनाउन कालीकोटका राजनीतिक दलहरु सक्रिय भएका छन् ।
जिल्लाका तिन नगरपालिका र छ गाउँपालिकासहित ८२ वटै वडाहरुमा जनप्रतिनिधि चुन्नका लागि हुन लागेको स्थानीय तहको निर्वाचनले राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै सर्वसाधारणलाई समेत उत्साहित बनाएको छ । जिल्लामा रहेका मुख्य राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेपाल कम्यूनिष्ट पाटी (एकिकृत समाजवादी) लगायतले निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेका छन् । राजनीतिक दलको यो अभियानसँगै निर्वाचनको सरगर्मी बढ्न थालेको छ ।
भेला, बैठक र प्रशिक्षणका कार्यक्रम लिएर दलका नेताहरु गाउँ–गाउँ पुग्न थालेपछि ग्रामीण भेगसम्म नै चुनावी सरगर्मी बढेको हो । आगामी निर्वाचनमा वडादेखि पालिकासम्मको नेतृत्वमा पुग्न आकांक्षिहरुले आ–आफ्नो दलभित्र समेत आफ्नो उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् । संघियताको पहिलो कार्यकाल अलमलमै बिते पनि आगामी निर्वाचनमा आफ्नो दललाई विजयी गराउन अनुरोध गर्दै जनप्रतिनिधिसहित दलका नेता तथा कार्यकर्ताहरु गाउँघरमा भोट माग्न थालिसकेका छन् ।
कालीकोटमा रहेका ९ स्थानीय तहमध्ये ५ वटा पालिकामा माओवादी केन्द्र, एक पालिकामा नेपाली काँग्रेस र ३ पालिकामा तत्कालीन नेकपा एमाले अहिले पाटी विभाजन पछि एकिकृत समाजवादीले दुईमा, एमालेले एक पालिकामा नेतृत्व गरेका छन् । स्थानीय तह निर्वाचनपछि भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।
काँग्रेसको विगतमा स्थानीय तह निर्वाचनमा गुमेको साख फर्काउने योजनामा छ । एमालेले आफ्नो साख जोगाउने उद्देश्यमा छ । नेकपा (माओवादी केन्द्र) पहिलो शक्तिका रुपमा स्थापित हुने प्रयत्नमा देखिन्छ । जनताको नजिकको सरकारका रुपमा रहेको स्थानीय तहको नेतृत्वका लागि जिल्लास्थित राजनीतिक दलका पदाधिकारी र नेताहरुसमेत इच्छुक देखिएका छन् ।
स्थानीय तह र वडास्तरमा रहेका पार्टीका समितिहरुको बैठक राखेर निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको काँग्रेस कालीकोटले जिल्ला कार्य समितिको बैठकबाट थप निर्वाचन लक्षित योजना बनाएको छ । ‘सबै शक्ति अब चुनावमा केन्द्रित गर्छौं, पार्टी संगठनसँगै विभिन्न भातृ तथा सुभेच्छुक संगठनहरु चुनावी अभियानमा सक्रिय भएका छन्, भेला, बैठक, प्रशिक्षणका कार्यक्रमले थप व्यापकता पाउँछन’, काँग्रेस कालीकोटका सभापति अम्बबहादुर शाहीले भने, ‘पालिका कार्यसमितिहरुले निर्णय गरेर टोल अभियान सञ्चालन गरेका छन् ।’
वडा कार्यसमितिको नेतृत्वमा सञ्चालन भएको टोल अभियानमा जिल्लास्तरका नेताहरुसमेत पुग्ने गरेका छन् । नेपाल कम्यूनिष्ट पाटी (माओवादी केन्द्र) नेकपा एमाले, नेपाल कम्यूनिष्ट पाटी (एकिकृत समाजवादी) ले पनि चुनावी अभियानलाई तिव्रता दिएका छन् । अहिले वडा र पालिकामा रहेका कार्यसमितिमार्फत टोल कमिटी गठन, भ्रातृसंस्थाहरुको पुनर्गठन, र संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।
यसअघिको जनमतका आधारमा पहिलो बनेको माओवादी केन्द्रले आफ्नै स्थान कायम गर्न सक्रिय देखिएको छ । भने नेपाली काँग्रेस, नेकपा एमाले र एकिकृत समाजवादीले माओवादी केन्द्रकै प्रतिस्पर्धामा आफ्नो पाटीको स्थान बनाउने रणनीतिका साथ चुनावी अभियानलाई अघि बढाएका छन् । पालिका कमिटीहरुको बैठकमार्फत वडा कमिटी हुँदै टोल र सेल कमिटी गठन गर्ने र जनवर्गीय सङ्गठनहरुको पुनर्गठन र विस्तारका कार्यक्रमलाई अघि बढाइएको माओवादी केन्द्रका एक नेताले बताए ।
‘स्थानीय तहको निर्वाचनका लागि सबै पालिका र वडा कमिटीहरुलाई चुनावमा केन्द्रित हुन भनेका छौँ, सबै पालिका र वडा कमिटीहरु क्रियाशील बनेका छन्, यस पटक माओवादीको सुदृढ संगठनले जिल्लामा मजबुत नतिजा ल्याउने गरी अघि बढेका छौँ’, ती नेताले भने । चुनावी प्रशिक्षण र अभियानलाई थप व्यापक बनाउने तयारी गरिएको छ । जिल्लामा माओवादीबाट निर्वाचित वडाध्यक्षहरुले अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले भन्दा नमूना र सफल काम गरेको दाबी गर्दै संघियता माओवादीको एजेन्डा भएकाले हाम्रो नेतृत्वले मात्र त्यसको सफल कार्यान्वयन गर्ने भएकाले यस पटक आफ्नो पक्षमा जनमत बढ्ने माओवादीको विश्वास छ ।
एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले समेत आफ्नो संठनलाई जिल्लाको सबै पालिका स्तरमा विस्तार गर्ने गरी गतिविधिलाई तीव्रता दिएको छ । पार्टी संगठन निर्माणसँगै जनवर्गीय संगठन निर्माण र चुनाव लक्षित भेला तथा प्रशिक्षणका गतिविधि अघि बढाइएको नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष विश्वराज बमले बताए । जिल्लामा एमाले, कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) सँगै राप्रपा, नेमकिपा, जनमोर्चा लगायतको समेत संगठन छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तह निर्वाचनमा भाग लिनेबारे अझै स्पष्ट पारिसकेको छैन । मुख्य तीन पार्टीबीच एक्लाएक्लै प्रतिस्पर्धा गर्ने अवस्था आएमा साना पार्टीका मतदातासमेत कतिपय वडा र पालिकामा निर्णायक बन्ने देखिएका छन् ।
अहिले गठबन्धनको सरकार भएकाले आगामी स्थानीय तहको निर्वाचन हुर्दै प्रदेश, प्रतिनिधि सभाको निर्वाचनमा पनि यो गठनबन्ध कायम हुने देखिन्छ । कालीकोटमा गठनबन्ध कायम भएर चुनावी मैदानमा गएभने जिल्लामा रहेका ९ वटा स्थानीय तह र ८२ वडामा भागभण्डा हुने देखिन्छ । यदि गठनबन्ध टुट्यो भने, जिल्लामा नेकपा माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) को चुनावी तालमेल हुने छ नेपाली काँग्रेस र नेकपा एमालेको चुनावी तालमेल हुने संकेत देखिएको छ ।
तर कालीकोटमा नेपाल कम्यूनिष्ट पाटीले कालीकोटका जनतालाई दिएको धोका लाई हेरेर जनताले न्याय गरे भने नेपाली काँग्रेस कालीकोटमा एक्लै चुनाव जित्न सक्ने भएकाले आफुहरु एक्लै लड्ने नेपाली काँग्रेसका प्रदेश कार्य समितिका सदस्य दमनबहादुर शाहीले बताए । अहिलेसम्म नेपाली काँग्रेस कर्णाली प्रदेशमा एक्लै चुनाव लड्ने उनको भनाई छ ।