खाडाचक्र नगर प्रमुखमा महिला उम्मेदवार


कालीकोटः नेपाली काँग्रेसले खाडाचक्र नगरपालिका प्रमुख महिला उम्मेदवार उठाएको छ । जिल्लाको खाडाचक्र नगरपालिका निवासी शसक्त महिला नेतृ तारा कुमारी शाहलाई नेपाली काँग्रेस पाटीले खाडाचक्रमा नगर प्रमुखमा उठाएको हो ।
जिल्लाको मुटुको रुपमा रहेको खाडाचक्र नगरपालिकामा ५ दलिय गठबन्धनका हिसावले पनि काँग्रेसका भागमा प्रमुख परेको छ । नेपाली काँग्रेस कालीकोटले जिल्लामै पहिलो पटक महिलालाई प्रमुखका लागि उम्मेदवार चयन गरेको छ । कालीकोटमा अहिले पनि कुनै पाटीबाट महिला उम्मेदवार छैनन् तर नेपाली काँग्रेसले खाडाचक्रकोे लागि महिला नेतृ शाहलाई नेतृत्व गर्न आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुखमा उठाएको हो ।
लामो समयदेखि काँग्रेसको संक्रिय राजनीतिमा लाग्नु भएकी शाह नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन् । कालीकोटमा पहिलो पटक काँग्रेसका तर्फबाट नगरको जिम्मेवारी पदमा उम्मेदवारी दिन पाउदा आफुलाई निकै खुसी लागेको शाहले बताईन् । उनले भनिन् ‘पाटीले जिम्मेवारी दियो भने महिलाले पनि नेतृत्व गर्न सक्ने गतिलो उदाहरण दिनका लागि उम्मेदवारी दिएकी हुँ । पाटीले पनि मलाई नै टिकट दियो आज मनोनयन दर्ता गरियो ।’
कालीकोटमा पहिलो पटक काँग्रेसले संशक्त यूवा महिला उम्मेदवार उठाएसंगै चिया चौतारामा शाहको चर्चा हुन थालेको छ ।