८ बैशाख २०८१, शनिबार

नक्कली योजना बनाई रकम हिनामिना गर्ने मुगुका वन अधिकृतसहित ६ जना बिरुद्ध अख्तियारको उजुरी


सुर्खेत । मुगुको सोरु गाउँपालिका–१ मा जवलधारादेखि काछसम्मको पदमार्ग निर्माणका पदमार्ग निर्माणका क्रममा कामै नगरी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले पदमार्ग निर्माणका क्रममा नगरेको कामको पनि बिल बनाएर ८ लाख ८७ हजार ६ रुपैयाँ अनियमितता गरेको भन्दै ६ जनामाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले डिभिजन वन कार्यालय मुगुका अधिकृत भरतबहादुर बुढथापा, सब–इन्जिनियर गोरसिंह बढुवाल, असिस्टेन्ट सब–इन्जिनियर रवीन्द्र शाही, पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव बिसु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीमाथि मुद्दा दायर गरेको छ ।
बढी मुल्याङ्कन गरी झुठ्ठा विल बनाई योजनाको विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला मुगु सोरु गाउँपालिका वडा नं. १ स्थित काछदेखि छोटासम्मको पर्यटक पदमार्ग निर्माणको लागि डिभिजन बन कार्यालय, मुगुबाट आर्थिक वर्ष २०७५÷०७६ मा बिनियोजित रकमबाट उक्त कार्य गर्ने क्रममा लागत इस्टिमेटमा उल्लेख गरे अनुसार कार्य नगरी, भएको कार्यभन्दा बढी परिमाण उल्लेख गरी नापी किताब, भुक्तानी बिल तयार गरी, फिल्डमा कार्य नगरी बढी रकम भुक्तानी लिने÷दिने कार्य गरी रकम हिनामिना गरी सरकारी वा सार्वजनिक सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी पु¥याइएको हुँदा मुद्धा दायर गरिएको आयोग जनाएको छ ।