२० बैशाख २०८१, बिहीबार

थप ११ जनामा कोरोना संक्रमण


सुर्खेत । कर्णाली प्रदेशमा बुधबार थप ११ जना कोरोना भाईरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । प्रदेश अस्पताल, पशुपंन्छी रोग प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा थप ११ जना संक्रमित फेला परेका हुन् ।

फेला परेका नयाँ संक्रमितहरुमा सुर्खेतका सात जना, पर्साका तीन जना र कालिकोटका एक जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यो सँगै कर्णालीमा कोरोना संक्रमितहरुको संख्या एक हजार नौँ सय ५६ जना पुगेको छ ।

यसका साथै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कर्णालीमा ३१ जना निको भएका छन् । यो सँगै कर्णालीमा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या एक हजार सात सय ७२ पुगेको छ । कर्णालीमा कोरोना संक्रमण पुष्टी भएकाहरु मध्य हालसम्म ६ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा कर्णालीमा दुई सय ९३ जनामा कोरोना संक्रमण परिक्षण गरिएको थियो । जसमध्य ११ जनामा संक्रमण पुष्टी भएको हो । हालसम्म कर्णालीमा ४२ हजार एक सय ४१ जनामा कोरोना संक्रमण परिक्षण भईसकेको छ ।

देशभर ३८१ थपिए

बुधबार देशभर ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज ३ सय ८१ जनामा कोरोना संक्रमण देखिएको बताए ।

योसँगै नेपालमा २१ हजार ३ सय ९० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ६ हजार ३ सय ५९ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । बुधबार ६ हजार १ सय ७४ जना आइसोलेसनमा रहेका छन् । बुधबार उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण देखिएको डा. गौतमले बताए ।

हालसम्म १५ हजार १ सय ५६ जना संक्रमण निको भएका छन्। जुन कुल संक्रमित मध्ये ७०.८ प्रतिशत निको भएका छन् ।
बुधबार मात्रै १३० जना कोरोना जितेर घर फर्किएका छन् । मन्त्रालयका अनुसार हाल ९ हजार ९ सय २५ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म कोरोना संक्रमणको कारणले ६० जनाको मृत्यु भएको छ ।