३ जेष्ठ २०८१, बिहीबार

पक्कि पुल निर्माण कार्य रोकिदा, बेलीब्रीजले जोखिम बढायो


रुकुम पश्चिम । मुसिकोट नगरपालिकाको मुख्य द्वार राप्ती लोगमार्ग जोड्ने साँखखोला पुलको काम रोकिएको छ । त्यसको विकल्पको रुपमा रहेको बेलीब्रीज जीर्ण बनेपछि जिल्ला भित्रने सयौं यातायातका साधन जोखिम मोलेर वारपार गराउनुपर्ने बाध्यता छ । ४ नम्बर वडाको सोलाबाङ र १२ नम्बर वडाको बैरागीठाँटी जोड्न राप्ती लोकमार्गस्थित साँखखोलामा निर्माणाधीन पुलको काम रोकिएको ७ महिना बितेको छ । जीर्ण बनेको बेलीब्रीज राप्ती लोकमार्गको ट्रयाक खोल्ने क्रममा २०६२ सालमा निर्माण गरिएको थियो ।

बेलीब्रीजमा जडान गरिएका फलामका पाताहरु टुक्रिएर झरेका छन् भने केही पाता उप्किएका छन् । बेलीब्रीज जीर्ण बनेपछि खोलामा पक्की पुल निर्माण थालिएको थियो । ‘अर्को विकल्प छैन, जोखिम उठाएरै गाडी गुडाइरहेका छौं,’ चालक लोकबहादुर बुढाथोकीले भने, ‘कुन दिन गाडी खोलामा खस्ने हो टुंगो छैन ।’ रुकुम पश्चिम र रुकुम पूर्वबाट दाङ, नेपालगन्ज, बुटबल र काठमाडौं जाने अर्को सडक नहुँदा जोखिम उठाउनुको विकल्प नभएको उनले गुनासो गरे ।

भएको पुल जीर्ण बन्दा र बन्न लागेको पुल अलपत्र हुँदा यात्रा जोखिमपूर्ण बनेको स्थानीय शिक्षक लोकबहादुर केसीले बताए । ‘पुल निर्माण र बेलीब्रीजको अवस्थाबारे सबैतिर जानकारी गराउँदा पनि बेवास्ता भइरहेको छ,’ उनले भने, ‘बेलीब्रीजकै कारण ठूलो दुर्घटना निम्तिने जोखिम छ ।’

जीर्ण बनिसकेको बेलीब्रीज विस्थापित गर्ने गरी सूर्यलाइट जेभीले पुल निर्माणको जिम्मा लिएको छ । २०७७ साउन महिनामै निर्माण सक्ने सम्झौता गरेको ठेकेदार कम्पनीले पुलको आधा काम पनि गरेको छैन । २ वर्षअघि ठेकेदार कम्पनीले सडक विभागको वैदेशिक महाशाखा अन्तर्गतको आरएसडीपी परियोजनासँग पुल निर्माणको सम्झौता गरेको थियो ।

विश्व बैंकको ८ करोड रुपैयाँ सहयोगमा सल्यानको पटारेसहित साँखखोलामा पुल निर्माण गर्न लागिएको हो । पटारे पुल निर्माणको जिम्मा पनि यही कम्पनीले लिएको छ । पुलको लम्बाई झण्डै ३५ मिटरको छ ।

पुल निर्माणमा ढिलाइ भएको र बेलीब्रीज पनि मर्मत नभएको गुनासो बढेपछि सर्वपक्षीय बैठक गरेर आवश्यक निर्णय लिन लागिएको मुसीकोट नगरपालिका प्रमुख देवीलाल गौतमले बताए । नगरपालिकाको प्राविधिक शाखाका अनुसार अहिलेसम्म पुल निर्माणको ४० प्रतिशत काम मात्र पूरा भएको छ ।