२१ बैशाख २०८१, शुक्रबार

रुकुम पश्चिमको जनसंख्या १ लाख ६६ हजार


रुकुम पश्चिम । रुकुम पश्चिमको जनसंख्या १ लाख ६६ हजार ३ सय ५४ पुगेको छ । जनगणना २०७८ अनुसार जिल्लाको जनसंख्या जनगणना २०६८ को तुलनामा ११ हजार ५४ मात्र बढेको छ । १० वर्ष अगाडि २०६८ मा भएको जनगणना अनुसार सिंगो रुकुमको कुल जनसंख्या दुई जिल्ला रुकुम पश्चिम र पूर्वमा विभाजन भएको थियो । जसअनुसार रुकुम पश्चिमको जनसंख्या १ लाख ५५ हजार ३ सय रहेको थियो । यो बढेर अहिले १ लाख ६६ हजार ३ सय ५४ पुगेको हो ।
जिल्ला तथ्यांक कार्यालयका अनुसार जिल्लामा पुरुषको तुलनामा महिलाको जनसंख्या बढी छ । ८१ हजार ६३ जना पुरुष हुँदा महिलाको जनसंख्या ८५ हजार २ सय ९१ छ । जिल्लामा पुरुषको भन्दा महिलाको जनसंख्या ४ हजार २ सय २८ ले बढी छ । जिल्लाको जनसंख्या बृद्धिदर ०.६५ प्रतिशत रहेको जिल्ला तथ्यांक कार्यालयका सूचना अधिकारी सतिशकुमार चौधरीले जानकारी दिए । त्यस्तै जिल्लामा घर परिवार संख्या ३७ हजार ७ सय ८ रहेको उनले बताए ।

सबैभन्दा बढी जनसंख्या आठबीसकोटको, छ भने कम त्रिवेणिको तीन नगरपालिका र तीन गाउँपालिका मध्ये जिल्लामा सबैभन्दा बढी जनसंख्या भएको नगरपालिका आठबीसकोट रहेको छ । आठबीसकोटको जनसंख्या कुल ३५ हजार ९ सय २९ रहेको छ । जसमा पुरुष १७ हजार ७ सय ४३ र महिला १८ हजार १ सय ८६ जना छन् । आठबीसकोटमा ७ हजार ६ सय ३ वटा घर छन् । घरपरिवार संख्या भने मुसीकोट नगरपालिकामा सबैभन्दा बढी छन् । जिल्ला सदरमुकाम रहेको मुसीकोट नगरपालिकामा ८ हजार ७ सय ९३ घर परिवार छन् । मुसीकोटको जनसंख्या ३३ हजार ८ सय ७१ रहेको छ । पुरुष १६ हजार ९१ जना हुँदा महिलाको संख्या १७ हजार ७ सय ८० छ ।
चौरजहारी नगरपालिकामा १४ हजार १ सय ७० पुरुष र १५ हजार ८५ महिला गरी कुल २९ हजार २ सय ५५ जनसंख्या छ । भने घर परिवार संख्या ६ हजार ७ सय ९१ रहेको जिल्ला तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गाउँपालिका मध्य बढी जनसंख्या सानीभेरी गाउँपालिकाको छ । सानीभेरीको जनसंख्या २४ हजार ७ सय ७८ हुँदा पुरुषको १२ हजार १ सय ५२ र महिलाको संख्या १२ हजार ६ सय २६ रहेको छ । सानीभेरीमा घर परिवार संख्या ५ हजार ३ सय १३ छ । बाँफिकोट गाउँपालिकामा कुल ४ हजार ८ सय २७ घर परिवार रहदा २० हजार ९ सय ४० जनसंख्या छ । जसमा पुरुष १० हजार ८५ र महिला १० हजार ८ सय ५५ जना छन् ।
जिल्लामा सबैभन्दा कम जनसंख्या त्रिवेणि गाउँपालिकामा २० हजार ४ सय ६६ छ । यहाँ घर परिवार संख्या पनि सबैभन्दा कम छ । त्रिवेणिमा ४ हजार ३ सय ७५ घर परिवार छन् । यहाँ पुरुषको संख्या ९ हजार ७ सय ७५ रहँदा महिलाको संख्या १० हजार ६ सय ९१ छ । जिल्लाका सबै स्थानीय तहमा पनि पुरुषको तुलनामा महिलाको संख्या बढी छ । यो प्रारम्भिक नतिजा रहेको र पूर्ण नतिजा आउँन भने समय लाग्ने तथ्यांक कायालयका सूचना अधिकारी चौधरीले बताए ।