२१ बैशाख २०८१, शुक्रबार

एउटै खोलामा पाँच पुल


रुकुम पूर्व । सिस्ने गाउँपालिका वडा नम्बर २ कार्यालयले काठको पुल विस्थापित गर्ने भएको छ । विगतमा वडाको अधिकांश खोलामा काठको पुल थियो । वडा कार्यलय स्थापना भएपछि जनप्रतिनिधिको पहलमा काठको पुल विस्थापित गर्ने निर्णय गरेको हो ।

अहिले काठको पुल कम देख्न सकिन्छ भने धेरैमा झोलुङ्गे र ट्रस्ट पुल बनिसकेका छन् । भरपर्दो र सुरक्षित आवतजावतका लागि काठको पुललाई विस्थापित गरिएको वडाध्यक्ष जीवन केसीले बताए । आफ्नो कार्यकालमा काठका पुललाई विस्थापित गर्ने उनले जानकारी दिए ।

वडामा आफ्नो कार्यकालयमा आठवटा काठका पुल विस्थापित गरी पाँच वटा झोलुङ्गे, दुई वटा ट्रस्ट र एक आरसिसी गरी आठवटा पुल बनाइसकेको वडाध्यक्ष केसीले जानकारी दिए । भूट छहरा, मोराबाङ–कोटाघारी, सल्लीबिसाउना, लामागाउँ, तुबाङ, छिपखोला, छिपतारा र टिपतारामा नयाँ पुल निर्माण गरिएको छ ।

खेपखोला, ठानाखोला, कोपोधारा–सक्मेरी र गोरनेटीमा झोलुङ्गे पुल बन्दै छन् । जसमध्ये कोपोधारा–सक्मेरीमा झोलुङ्गे पुल निर्माणका लागि डिपिआर काम भइरहेको वडाध्यक्ष केसीको भनाइ छ ।

नयाँ आठवटा पुलमध्ये तुबाङखोलामा मात्र पाँच वटा पुल निर्माण गरिएको छ । तुबाङखोलाको तलदेखि माथिसम्म त्यस आसपास बस्ती भएकाले पाँच वटा पुल निर्माण गरिएको केसीले बताए । अझै पनि वडामा नयाँ पुल निर्माणको आवश्यक रहेको उनको भनाइ छ ।