८ जेष्ठ २०८१, मंगलवार

रुकुमको एउटै वडाबाट ३५ लाखको लसुन बिक्रि


सुर्खेत । रुकुम पश्चिमको एउटा वडाले एक वर्षमा ३५ लाखको लसुन बिक्रि गरेको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० गत आर्थिक वर्ष २०७९÷०८० मा ३५ लाखको लसुन बिक्रि गरेको हो ।

वडाका किसानले उत्पादन गरेको साढे ३ सय ५० क्विन्टल लसुन निर्यात भएको छ ।

वडाका झ्याङ, झाँडारी, जुगे खोर्या, गलमपाटी, खर्सुपानी, चौर र भेरीखोला टोलमा उत्पादन भएका लसुन जिल्ला सदरमुकाम खलंगा सहित जिल्ला बाहिरका विभिन्न बजारमा निर्यात भएको वडा अध्यक्ष धनबहादुर खड्का ‘बसन्त’ले बताए । ‘वडाबाट ३ सय ५० क्विन्टल लसुन निर्यात हुँदा ३५ लाख रुपैयाँ भित्रिएको छ ।’ उनले भने,‘किसानले वडाबाटै प्रतिकिलो १ सय १० रुपैयाँका दरले लसुन बिक्रि गरेका छन् ।’

वडाका किसानले लसुन बिक्रि गरेर ५० हजारदेखि एक लाख ६१ हजार रुपैयाँसम्म आम्दानी गरेको वडाध्यक्ष खड्काको बताए । ‘वडाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिहेको छ ।’ उनले भने,‘वडाले यसै आर्थिक वर्षदेखि वडालाई लसुन पकेट क्षेत्र समेत घोषणा गरेको छ ।’