२१ बैशाख २०८१, शुक्रबार

संघीयता आएको आठ वर्ष पुरा भएपनि पूर्णता पाउन सकेनः प्रधानमन्त्री प्रचण्ड


सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा संघीयता आएको आठ वर्ष पुगेपनि त्यसले अझैँ पूर्णता पाउन नसकेको बताएका छन् । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय गणतन्त्रात्मक संविधान निर्माण भएको आठ वर्ष पूरा भइसकेको बताएका हुन् ।

‘यद्यपि, संघीय शासन प्रणालीअनुरूप सयभन्दा बढी नयाँ कानुन तर्जुमा र पुराना कानुनहरू संशोधन गर्न बाँकी नै छ । संघीय शिक्षा ऐन, संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन र मौलिक हक कार्यान्वयनका लागि आवश्यक कानुनहरू बनेर कार्यान्वयनमा आएपछि मात्र जनताले संघीयताको मर्म अनुभूत गर्न सक्दछन् ।’ प्रधानमन्त्री प्रचण्डले भने ‘तर, मेरो प्राथमिकता यी ऐनहरु छिट्टै तर्जुमा गर्नेतर्फ गएको छ ।’

कर्णाली प्रदेशको स्थापनामा कर्णालीबासीको ठूलो संघर्ष, त्याग र बलिदान आएको र कर्णाली प्रदेश निर्माणका क्रममा ८ वर्षअघि २ हप्ता लामो आन्दोलनमा चार जनाको शहादतपश्चात् २०७२ भदौ गते आजकै दिन कर्णाली प्रदेश स्थापना भएको बताए । ‘म आन्दोलनका क्रममा शहादत्त प्राप्त गर्ने सुर्खेतका टीकाराम गौतम, यामबहादुर बिसी, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुंवरप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँहरूको सपना पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उनले भने,‘संघीय शासन प्रणालीको मूल मर्म नै लोकतान्त्रिक लाभको समानुपातिक, समावेशी र न्यायोचित वितरणलाई आम जनतासम्म बिस्तार गर्नु हो ।’ उनले भने,‘यसका लागि पनि तीनै तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वयको सम्वन्ध आवश्यक रहन्छ ।’

कर्णालीका कच्ची र कमजोर सडक पूर्वाधारले दुर्घटनाको जोखिम बढाएको विषय मैले बुझेको छु, बेरोजगारी र अभावले हजारौँ युवा मुग्लान पसिरहेको उनले बताए । ‘जाडोयाममा मयल पोसेको पातलो कपडा लगाई शिक्षा लिन २ घण्टासम्म नानीबावु हिड्ने गरेको मैले महसुस गरेको छु, उपचार नपाउँदा गर्भवतीको अकालमा ज्यान जाने गरेको भयावह स्थिति मैले देखेको छु, कर्णालीको गरिबी, पछ्यौटेपन र भूगोलमा म पसेको छु, जनयुद्धकालको संघर्षमय क्षणमा यही क्षेत्रमा बसेर आन्दोलनको नेतृत्व गरेको छु ।’ उनले भने,‘यति मात्र होइन कर्णाली प्रदेशको विशाल सिंजा सभ्यता, विविधतायुक्त भूगोल, सानो जनसंख्या, रारा, उपल्लो डोल्पा, कैलाश पर्वत दृश्यावलोकन गराउने लिमी, फोक्सुण्डो ताल, भेरी र कर्णालीको पवित्र संगम पञ्चपुरी उपत्यकाजस्ता आकर्षक पर्यटकीय गन्तव्य, भेरी र कर्णाली जस्ता सदावहार हिमाली नदीहरुको अपार सम्भावना र अवसरको अनुभूत गरेको छु ।’

कर्णाली प्रदेशले निर्धारण गरेको विकास, पूर्वाधार र परिवर्तनको लक्ष्य, कर्णालीको मूल्यवान उत्पादन, कृषकहरूलाई प्रोत्साहन, कर्णालीले जे बेच्छ, मूल्यवान उपज बेच्छ जस्ता नारा र कर्णाली समृद्धि अभियान जस्ता कार्यक्रमबाट आफु उत्साहित भएको प्रचण्डले बताए । ‘साँच्चै कर्णाली मुलुककै समृद्धिको मुहान बन्न सक्दछ। कर्णालीको जल, जमिन, पर्यटन, जडीबुटी, भेषभुषा, भाषा संस्कृतिमा रहेको अपार सम्भावनालाई मैले बुझेको छु ।’ उनले भने,‘कर्णाली एउटा सभ्यता हो। यो मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ ।’