२१ बैशाख २०८१, शुक्रबार

जाजरकोट भूकम्पका ४६६ परकम्प, इपिसेन्टरमा जोडियो सिस्मोमिटर


जाजरकोट । जाजरकोट भूकम्पका परकम्प जाने क्रम जारी छन्। हालसम्म ४६६ भन्दा बढी पराकम्प रेकर्ड गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

केन्द्रले जाजरकोट भूकम्पको केन्द्रबिन्दु आसपास मानिएको बारेकोट गाउँपालिका–२, रोकाया गाउँमा बुधबार भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ। गत शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि केन्द्रबिन्दुकै आसपास सिस्मोमिटर राखिएको हो। पराकम्पनको वास्तविक तथ्य लिने गरी यन्त्र जडान गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताए।

अहिलेसम्म देशका विभिन्न स्थानमा रहेका ४२ वटा यन्त्रबाट भूकम्पको तथ्य सङ्कलन गरेर केन्द्रले भूकम्प गएको सूचना दिने गरेको छ। ‘यसले यहाँको भूकम्पको वास्तविक केन्द्रबिन्दु पत्ता लगाउँछ, अनि भूकम्पको कम्पनको मान कति हो भन्ने पनि पत्ता लगाउँछ,’ उनले भने।  रुकुम र दैलेखमा यसअघि नै यन्त्र जडान गरिएका छन् तर उत्तरतिर हुम्ला, जुम्ला, मुगु र रुकुमसम्मको स्थान खाली छ। त्यसैले पनि यहाँ सिस्मोमिटर जडान गर्नु परेको हो। वरपर स्टेसन भएको भूखण्डमा भूकम्प गयो भने सबैभन्दा वास्तविक तथ्याङ्क आउँछ। यो सिस्मोमिटरले २ म्याग्निच्युटभन्दा साना भूकम्प गएको खण्डमा त्यो पनि रेकर्ड गर्छ। अस्थायी रूपमा राख्ने योजनाका साथ सिस्मो जडान गरिएको हो।

काठमाडौँबाट ल्याइएको यन्त्र अधिकारी नेतृत्वको टोलीले सुरक्षित रूपमा जमिनभित्र गाडेपछि त्यसको रेखदेख गर्न गाउँपालिकालाई जिम्मा दिइएको छ। गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले वडा नम्बर २ ले त्यसको सुरक्षा गर्ने र पालिकाले अनुगमन गर्न सघाउने बताए। शुक्रबारको भूकम्पका कारण १५३ जनाको मृत्यु भएको छ भने झन्डै ६२ हजार घरमा क्षति पुगेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जानकारी दिएको छ। क्षतिको विवरण संकलनको काम अझसम्म पनि नसकिएको कार्यसञ्चालन केन्द्रले बताएको छ।