४ जेष्ठ २०८१, शुक्रबार

सिमकोटमा रोकिएको नेपाल एयरलाइन्सको जहाजको अर्को इन्जिनमा पनि समस्या


हुम्ला । एउटा इन्जिनमा समस्या देखिएर सिमकोट विमानस्थलमै रोकिएको नेपाल एयरलाइन्सको ट्वीनीटर जहाजको अर्को इन्जिनमा पनि उस्तै समस्या देखिएको छ । काठमाडौंबाट आइपुगेको प्राविधिकको टोलीले जहाजमा चेकजाँच गर्दा चिसोका कारण सो समस्या देखिएको बताएका छन् ।
उक्त जहाजका क्याप्टेन मनिस बिष्टले हिजो (सोमबार) बायाँ इन्जिनमा देखिएको समस्या आज दायाँमा पनि देखिएको बताउनुभयो । उहाँले प्राविधिकको टोलीले हेरेपछि पटक–पटक इन्जिन सञ्चालन गर्ने प्रयाग गरेका थिए । तर जहाजमा हिजोको जस्तै समस्या देखिएको प्राविधिकले बताए ।
मङ्गलबार इन्जिनियरसहित तीन जना प्राविधिक जहाज मर्मतका लागि सिमकोट आइपुगेका हुन् । घाम लागेपछि एक पटक पुनः जहाजलाई सञ्चालन गर्ने प्रयास गरिने नभए ग्राउण्ड पावरको आवश्यकता पर्ने प्राविधिक टोलीले जनाएको छ ।
सोमबार सिमकोटबाट नेपालगन्जका लागि उडान भर्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको ट्वीनीटर जहाजमा प्राविधिक समस्या देखिएको थियो । जहाजले नेपालगन्जका लागि उडान भर्ने क्रममा बायाँ इन्जिन सञ्चालन नभएपछि जहाजमा समस्या देखिएको थियो ।
जहाजमा प्राविधिक समस्या आएपछि नेपाल एयरलाइन्सको ट्वीनीटर जहाज सिमकोट विमानस्थलमै रोकिएको छ ।