१९ बैशाख २०८१, बुधबार

महिलालाई मञ्च पुरुषलाई बेञ्च


सुर्खेत । सुर्खेतमा आयोजना गरिएको एउटा कार्यक्रममा महिलालाई मञ्च र पुरुषलाई बेञ्चमा राखिएको छ । गैरसरकारी संस्था महासंघ, नेपालको सुर्खेत शाखाले आयोजना गरेको ‘लैंगिक हिंसा न्यूनीकरणमा पुरुषहरुको भूमिका’ विषयक कार्यक्रममा महिलालाई मञ्च र पुरुषलाई बेञ्चमा राखिएको हो ।

कार्यक्रमको अध्यक्षतादेखि प्रमुख अतिथिसहित अन्य सवै अतिथिहरु महिला राखिएका थिए भने कार्यक्रममा सहभागी भएका सबै पुरुष बेञ्चमा राखिएका थिए ।

लैंगिक हिंसा न्यूनीकरणमा पुरुषहरुले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने भएकोले कार्यक्रमको मञ्चमा सबै अतिथि महिलालाई नै गराइएको गैसस महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारुले बताए । ‘यस्ता कार्यक्रमले समाजमा सकारात्मक धारणा बनाउने हुँदा अन्य कार्यक्रमहरुमा पनि यस्तै अनुकरण गर्न सकिन्छ ।’ उनले भने,‘लैंगिक हिंसा न्यूनीकरणमा महिला र पुरुषका साथै अन्य वर्ग र क्षेत्रको पनि उत्तिकै भूमिका छ ।’

कार्यक्रममा केही नयाँ र फरकपन देखिएको भन्दै यसले महिलालाई सवै क्षेत्रमा अगाडि ल्याउन जरुरी रहेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् । ‘पुरुषको साथ र सहयोगले मात्र महिलाहरु हरेक क्षेत्रमा अगाडि सर्न सहज हुने भएकोले लैंगिक हिंसा न्यूनीकरणमा पनि पुरुषहरुको पनि साथ अनिवार्य चाहिन्छ ।’ उनले भनिन्,‘सबैको साझा प्रयासबाट मात्रै लैंगिक हिंसा न्यूनीकरण गर्न सकिन्छ । हिंसामा सबैले शुन्य सहनशीलताको नीति अपनाउन जरुरी छ ।’

लैंगिक हिंसा न्यूनीकरणमा पुरुषलाई पनि सँगसँगै हिँडाउनुपर्ने सुझाव मानवअधिकार रक्षक संजाल कर्णाली प्रदेश अध्यक्ष पीताम्बर ढकालले बताए ।