५ जेष्ठ २०८१, शनिबार

सिंजामा बहुप्राविधिक शिक्षालय बनाउने प्रक्रिया सुरू


जुम्ला । सिंजा गाउँपालिकामा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने प्रक्रिया सुरू भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले वडा नं. ६ स्थित भाडगाउँको दिलौरीमा शिक्षालय स्थापनाको स्वीकृति दिएसँगै स्थापनाको प्रक्रिया अघि बढेको हो ।

पहिलो चरणमा जग्गा प्राप्तिको काम अघि बढेको छ । गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालका अनुसार हाल सम्म १७ हजार १ सय ६५ बर्गमिटर जग्गा प्राप्त भइसकेको छ । स्थानीयले निस्शुल्क जग्गा प्रदान गरेपछि बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुलेको उनको भनाइ छ ।

आँगनमै बहुप्राविधिक शिक्षालय बन्ने भएपछि स्थानीयले खुसीका साथ जग्गा दिएका हुन्। साधारण शिक्षा पढ्न समेत कठिन हुने दुर्गम क्षेत्रमा प्राविधिक शिक्षा पठनपाठन हुनुले खुसी तुल्याएको स्थानीय सुनौलो क्षेत्रीले बताए ।

विकट बस्तीमा प्राविधिक शिक्षालय स्थापना सरकारले आफ्नै लगानीमा गर्दा विपन्नका छोराछोरीको प्राविधिक शिक्षामा सहज पहुँच हुने अपेक्षा गरिएको छ । प्राविधिक शिक्षा पढ्न सिंजाबासीले सुर्खेत, नेपालगन्ज र काठमाडौं लगायतका महंगो ठाउँमा जानू पर्ने बाध्यता थियो ।

‘पहिलो चरणमा सीटीईभीटीबाट अनुमति प्राप्त गर्न सफल भयौं । त्यसपछि जग्गा प्राप्ति गर्न सफल भयौं,’ अध्यक्ष धितालले भने, ‘अब सरकारबाट बजेटको जोहो गरेर प्राविधिक शिक्षा पढ्ने सिजाली विद्यार्थीको सपना पूरा गर्न समेत सफल हुनेछौं ।’

उनका अनुसार प्राविधिक शिक्षालय बनाएर‌ै छाड्ने र विपन्न नागरिकका छोराछोरीलाई गाउँमै प्राविधिक शिक्षा पढाउने लगायतको सहमतिपछि स्थानीयबासी जग्गा दिन राजी भएका छन् ।

भौतिक पूर्वाधार निर्माण तथा आर्थिक सुनिश्चितता सरकारले गर्नेछ। आङ्गिक शिक्षालयका रूपमा प्राविधिक शिक्षालय बन्नेछ ।

बहु प्राविधिक शिक्षालयका लागि सिंजा गाउँपालिका( ६ भाडगाउँका दुई सय जनाले एक लाख बर्गमिटर जग्गा दिने भएका छन् । आगामी शैक्षिक सत्रदेखि पठनपाठन सञ्चालन गर्ने गरी भौतिक संरचना निर्माणका कामहरू अघि बढाउने तयारी भइरहेको अध्यक्ष धितालले बताए ।