६ जेष्ठ २०८१, आईतवार

‘हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ’


कर्णाली। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ । हुलाक सेवा विभाग काठमाडौँद्वारा मङ्गलबार वीरेन्द्रनग सुर्खेतमा आयोजित ‘एक स्थानीय तह एक हुलाक’सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले हुलाकलाई आजको युग सुहाउँदो संरचनामा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सूचना र प्रविधिको उच्चतम विकास भइरहेका बेला हुलाक ग्राहक सेवा कार्यालयभन्दा माथि उठ्न सकेको छैन । खारेज गर्ने होइन, हुलाक सेवामा गुणस्तर र छरितोपन ल्याउनुपर्दछ ।”

विभागका महानिर्देशक प्रदीपराज अधिकारीले हुलाक सेवामा बिग्रेको ठाउँमा सच्याउन नसक्दा, काम र विश्वसनीयताका विषय बाहिर नआउँदा यसको आकर्षण घटेको हो । “अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर हुलाकलाई उद्योग र व्यवसायका रूपमा लिनुपर्दछ”, उहाँले भन्नुभयो, “कानुन तथा व्यवस्था सञ्चालनका लागि हुलाक अतिआवश्यकीय महत्त्वपूर्ण सेवा हो ।”

अदालत, मालपोतलगायतका आधिकारिक र महत्त्वपूर्ण काजगाजतबाहक निकाय हुलाक कुरियर्सजस्तो नभई नागरिकका निम्ति सस्तो र भरपर्दो सेवा भएको महानिर्देशक अधिकारीको जिकिर थियो । महत्व भएर पनि यसको इतिहास, विरासत र आजको कामका बारेमा दर्शाउन नसक्दा हेपाहा दृष्टिले हेरिए पनि हुलाक सेवालाई सरकारी मञ्चका रूपमा ठान्न सरोकारवालालाई उहाँले आग्रह गर्नुभयो ।

कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारुले विश्वमा हुलाक सेवाको दायरा फराकिलो हुँदा पनि राज्यले यसलाई सन्तुलनमा राख्न नसक्दा नेपालमा कामयावी नभएको जस्तो देखिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “राजस्व लिएर हुलाकले गुणस्तर सेवा दिनुपर्दछ ।” हुलाक पालिकास्तरमा पुग्दा तीनै तहका सरकारबीचको अन्तरसम्बन्ध बढ्ने उहाँको भनाइ थियो ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारले हुलाकले आफूलाई प्रविधिमैत्री बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । गाउँपालिका राष्ट्रिय महासङ्घ कर्णाली प्रदेश समिति अध्यक्ष निमबहादुर केसीले सूचना र प्रविधिको युग भनिए पनि नेपालीहरूका लागि घोप्टे युग आएको व्यङ्ग्य गर्नुभयो । प्रविधियुक्त सामग्रीमै घोप्टो परेर समय बर्बाद गर्नेहरूको सङ्ख्या वृद्धि भएको जनाउँदै उहाँले पालिकास्तरमा हुलाक कार्यालय स्थापनाका लागि आवश्यक सहयोग दिने बताउनुभयो ।

हुलाक विभागका पूर्वसहसचिव बालाराम शर्मा देवकोटाले आजको प्रविधिसँगै हुलाक सेवालाई जोडिएर लिनु अपरिहार्य भइसकेको बताउनुभयो । विभागका निर्देशक ध्रुवराज आचार्यले हुलाकको इतिहास, वर्तमान अभ्यास, भइरहेका गतिविधि, यसले सामना गर्नुपरेका चुनौती र भावी रणनीतिसहित सङ्गठन संरचनाबारे आफ्नो प्रस्तुति राख्नुभयो । उक्त अन्तक्र्रियामा स्थानीय तहका प्रमुख÷प्रतिनिधि, निजी व्यवसायीलगायत पत्रकारसहित अन्य सरोकारवालाको सहभागिता थियो ।