२० बैशाख २०८१, बिहीबार

कर्णालीका मुख्यमन्त्री शर्मा प्रचण्ड निर्देशन विपरित, विश्वासको मत लिँदै


सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन विपरित आज विश्वासको मत लिने भएका छन् । केन्द्रमा रहेका सत्ता गठबन्धनका नेताहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले दिने सहमति भएपनि कर्णालीका मुख्यमन्त्रीले त्यस विपरित आज विश्वासको मत लिने भएका हुन् ।

प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बेलुका कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई निर्देशन दिएका थिए । तर, त्यस विपरित मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने बताएका छन् ।

अध्यक्ष कमरेडले मुख्यमन्त्रीज्यूलाई फोन गरेर एमालेलाई नेतृत्व छाड्न भन्नु भएको र अहिले सबैधानिक व्यवस्था अनुसार संसदमा विश्वास मतका लागि पत्र दर्ता भएकाले विश्वासको मत लिने सरकारका प्रवक्ता, एवम् कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए । ‘मुख्यमन्त्रीज्यूले पनि केन्द्रबाट गलत समय र तरिकाको निर्णय आएकाले विश्वासको मत लिने जवाफ दिनुभएको छ ।’ उनले भने,‘मुख्यमन्त्री शर्माले मंगलबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । त्यही आधारमा अघि बढ्छ ।’

४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।