२० बैशाख २०८१, बिहीबार

फुकोट कर्णालीको मुआब्जा वितरण अन्तिम चरणमा


कालीकोट । कालीकोटमा निर्माण हुन लागेको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजना प्रभावित क्षेत्रको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ ।

जिल्ला प्रशासनले सूचना प्रकाशन गरेर अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण सकिने अवस्थामा रहेको जनाएको छ । प्रशासनले चरण, चरणमा गरी २०७६ देखि जग्गाको लगत कट्टा गरेका जग्गाधनीलाई मुआब्जा वितरण गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला सरोज अधिकारीले मुआब्जा वितरणको काम तीन वर्षदेखि निरन्तर भइरहेको बताए । फुकोट होइड्रोले सिस्नेगडा ड्यामसाइडदेखि डुबान क्षेत्र भुराबगरसम्मको एक हजार २० रोपनी जग्गाको मुआब्जाका लागि लागत अनुमान भएको थियो ।

फुकोट कर्णाली जलविद्युत् आयोजना प्रमुख डम्मर उप्रेतीले रकम निर्धारण भएको ५५ करोडमध्ये हालसम्म ५० करोड रकम वितरण गरिसकेको जानकारी दिए ।

आयोजना प्रमुख उप्रेतीले केही घरटहराको मुआब्जा दिन बाँकी रहेको भन्दै धेरैजसो वितरण भइसकेको सुनाए । उप्रेतीका अनुसार घरटहराका लागि विनियोजित १३ करोडमध्ये तीन करोड वितरण भइसकेको छ भने अन्य ठाउँका लागि निवेदन सङ्कलन भइरहेको छ । मुआब्जा वितरणको काम जिल्ला प्रशासनले गरिरहेको जानकारी दिँदै केही असन्तुष्टि भए प्रभावित क्षेत्रका बासिन्दासँग छलफल गरेर समाधान हुने गरेको जानकारी दिए ।