४ जेष्ठ २०८१, शुक्रबार

६ वर्षको पर्खाइपछि मुख्यमन्त्री बन्दै कँडेल


सुर्खेत । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएसंगै कँडेललाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । २०७४ सालदेखि नै मुख्यमन्त्रीको आकांक्षी रहेका कँडेल अब भने मुख्यमन्त्री बन्ने पक्का जस्तै भएको छ ।

२०७९ सालको निर्वाचनलगत्तै उनले मुख्यमन्त्री बन्ने कोसिस गरेका थिए । तर, २०७८ पुस १० गते बनेको एमाले-माओवादी गठबन्धनमा भागबन्डा हुँदा कर्णालीको मुख्यमन्त्री पद माओवादीले लिएपछि उनी सो पदमा पुग्न असफल भए । अघिल्ला कार्यकालमा एमालेको स्पष्ट बहुमतसहित २० सिट थियो । २०७४ र २०७९ मा दुई पटक प्रदेशको चुनाव जितेका उनी अब कर्णालीको मुख्यमन्त्री बन्नेछन् ।

२०७९ को निर्वाचनपछि कांग्रेस र माओवादी केन्द्रको समीकरण भत्किएर प्रचण्ड प्रधानमन्त्री बनेका थिए । त्यसबेला पनि उनी मुख्यमन्त्रीको दौडमा थिए । तर, दुई महिनामै उक्त गठबन्धन भत्किएको थियो । एमाले-माओवादीले कर्णालीबारे गरेको सहमतिले उनलाई रोकेको थियो । त्यसबेला एमालेले सभामुख लिएर पाँच बर्ष नै माओवादी केन्द्रलाई मुख्यमन्त्री दिएको थियो । तर, कर्णालीमा कँडेलले माओवादी केन्द्र शर्मासँग आधा-आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति गरेका थिए ।

यसबीचमा गत फागुन २१ गते माओवादी, एमालेसहितको गठबन्धनमा फर्किए पछिको भागबन्डाले कँडेलको सत्ता यात्राको ढोका खोलिएको हो । सत्ता गठबन्धनले गरेको भागबन्डाअनुसार अब कर्णालीमा एमालेले सरकारको नेतृत्व गर्ने भएको छ । त्यसकै लागि शर्माले मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिइसकेका छन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन् । प्रदेश सभामा कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।