२० बैशाख २०८१, बिहीबार

सिंचाइ कार्यालय मुगुका प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा


सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका प्रमुख राजिव रिमालसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले रिमालका साथै सव–इन्जिनियर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाहीविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार उनीहरुले मुगुको सोरु गाउँपालिका ५ स्थित नेर सिंचाइ आयोजनाको पाइपलाइन निर्माणका क्रममा गलत विवरण बुझाइ उपभोक्ता समितिलाई गैरकानुनी लाभ र सरकारलाई हानी नोक्सानी पुर्‍याएका छन् ।

अख्तियारका अनुसार सिंचाइ आयोजनाको पाइपलाइन १७ सय हुनुपर्नेमा ८१२ मिटर मात्रै बनाएको र पूरा भएको भनी झूठो विवरण पेश गरी पहिलो, दोस्रो बिल स्वीकृत गरेर ५ लाख ६१ हजार रुपैयाँ अनियमितता भएको छ ।

‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रु.५,६१,४८१.९५ (पाँच लाख एकसठ्ठी हजार चार सय एकासी रुपैंया पन्चानब्बे पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगो असुलउपर हुन मागदाबी लिइएको छ, आरोपपत्रमा भनिएको छ ।’