२७ असार २०८२, शुक्रबार

हरिमायाको मौलिक तीज गीत ‘मधु’ सार्वजनिक



सुर्खेत । गायिका हरिमाया कार्कीको तीज गीत ‘मधु’ सार्वजनिक गरिएको छ । शुक्रबार हरिमाया कार्की अफिसियल युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो । नेपाली संस्कृती र स्थानीय मौलिकता झल्किने तीज गीतमा स्थानीय कलाकारहरुको अभिनय रहेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्ष हरिमायाa कार्कीको एकल स्वरमा रहेको ‘मधु’मा संगीत र शब्द रचना पनि गायिका कार्कीले आफै गरेकी हुन् । खेमराज गौतमले संगीत एरेन्ज गरेको उक्त गित मालाश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको भिडियोमा समिक्षा सुनार, जानकी पुन, यामनारायण आचार्य, सिर्जना ठकुराठी, चित्रकला खत्री, हरिमाया कार्की, अनमिन जिसी, पावल बलामी मगरलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
गीतको भिडियो सुर्खेतका विभिन्न पर्यटकीय स्थानमा छायाङ्कन गरिएको छ । निर्मल प्याकुरेले निर्देशन र सम्पादन गरेको उक्त भिडियोमा चन्द मन्दिर र हेमन्त नेपालीले नृत्य निर्देशन गरेका छन् । गीतका रचनाकार हरिमाया कार्कीले तीज गीत ‘मधु’ नेपाली हिन्दु महिलाहरुको जीवन भोगाई र अनुभुतीको प्रतिबिम्ब भएको बताईन् ।
कर्णालीको मौलिक संस्कृती भल्किने उक्त गीतमा तीजमा माइतीघर जान नपाएकी छोरीले माइतीघरबाट आमा बुवाले पठाएका कोशेलीहरु साथमा राखेको सम्झना देखाइएको छ । उक्त गीतमा माइतीघर जान नपाएकी मधु आमाले पठाएको सिफन र रेशमी सारी लगाएर नाच्दाखेरीको अनुभुती समेटिएको छ । मधुले आमाको चिनो शिरफूल र बुवाको चिनो बालिया हराएपछि विरक्त भएको कथा गीतमा समेटिएको गायिकी कार्कीले बताईन् ।
गीतले सुर्खेतको भेरी पारी माइतीघर भएकी मधु बर्षायामको बादलले माइतीगाउँ छेकेको अवस्थामा माइती सम्झेर कर्मलाई दोष दिँदै माइती घर जान नपाउँदाको पीर जीवनभर रहेको कल्पना गीतमा गरिएको छ । उक्त गीतले बाबाको काखमा पुतली भेषमा उडेर आउने कल्पना मधुले गरेकी छिन् । गत बर्ष जित गीत ‘पार्वता’ ल्याएकी कार्कीले यो बर्ष ‘मधु’ सार्वजनिक गरेकी हुन् ।
दुई दशक लामो समय लोक तथा दोहोरी गीतको क्षेत्रमा अनवरत लागेकी कार्की तीज गीतलाई समयानुकल परिवेशमा परिस्कृत गर्नु पर्ने धारणा राख्छिन् । तीज गीत समाज परिवर्तन, नारी सिर्जनशिलता र सकारात्मक सन्देश दिने खालका हुनु पर्छ भन्ने विश्वास गर्ने कार्की सधै जेठानी देउरानीको भगडा, सासुबाट थिचोमिचोमा परेको बिलौना मात्र होइन पारिवारिक मेलमिलाप र सहकार्यको सन्देश गीतले दिनु पर्ने बताउँछिन् ।