३ जेष्ठ २०८१, बिहीबार

बुद्ध एयरले थाल्यो साँझपनि सुर्खेत–काठमाडौं हवाई सेवा



सुर्खेत । आइतबारदेखि बुद्ध एयरले साँझपनि सुर्खेत काठमाडौ उडान सुरु गरेको छ । गत बर्षको चैत २५ गतेदेखि विहान मात्रै उडान गरेको बुद्धले आइतवारदेखि साँझपनि उडान सुरु गरेको हो । बुद्धले एक विज्ञप्ति जारी गरी आइतवारदेखि साँझपनि सुर्खेत काठमाडौं उडान सुरु गरिएको जनाएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत र संघीय राजधानी काठमाडौंको दुरी कम गराउन बुद्ध एयरले महत्वपूर्ण योगदान गरेको र असार १ गतेदेखि साँझपनि उडान थप गरिएको जनाएको छ । बेलुका ४ बजे सुर्खेतदेखि काठमाडौं उडान हुनेछ । एकै दिनमा सुर्खेत काठमाडौंको सम्पर्कले गर्दा दुई राजधानीका साथै पहाडी जिल्लाका नागरिकलाई पनि प्रत्यक्ष फाइदा पुग्ने बुद्धले जनाएको छ । अहिले सुर्खेत विमानस्थलको धावनमार्ग १२ सय ५५ मिटर भएको र यसमा साढे ३०० मिटर थप गरेमा ठूला जहाज पनि आउने र जसका कारण भाडा कम हुने बताइएको छ । धावनमार्ग विस्तार गर्न सम्बन्धि पक्षहरुलाई बुद्ध एयरले आग्रह गरेको छ ।

यसैवीच सुर्खेत उद्योग बाणिज्य संघमा भएको एक छलफलमा बुद्ध एयरले एक महिनासम्म साँझको उडानका यात्रुहरुको चापका आधारमा भाडा समायोजन गर्ने जनाएको छ । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले एक महिनासम्म साँझको उडानमा यात्रुहरुको चापलाई आधार मानेर भाडा समायोजन गर्ने बताए । यद्यपि अहिले तत्कालका लागि भने भाडा नघट्ने उनको भनाई छ ।

एक बर्षदेखि विहान मात्रै उडान गर्दै आएकोमा आइतवारदेखि साँझपनि उडान गर्न लागिएकोले नागरिकले प्रत्यक्ष फाइदा पाउने उनले जनाए । उनले अहिलेको धावनमार्गलाई ३०० मिटर विस्तार गर्न सकिए ठूला जहाजहरु पनि आउने र भाडा २० देखि २५ प्रतिशतसम्म घट्न सक्ने बताए । अहिले सुर्खेत काठमाडौंको भाडा दर ७ हजार ७३० रुपियाँ र ११ हजार ३०० रुपैयाँ छ । सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले संघको पहलमा धावनमार्ग विस्तारको लविह् भइरहेको जनाए । उनले सवैको चाहना अनुसार भाडा समायोजन भए यात्रुको चाप बढ्ने निश्चित भएको बताए । यद्यपि आइतवारदेखि साँझपनि सुर्खेत काठमाडौं उडान सुरु भएकोमा खुशी प्रकट गरे ।

बुद्ध एयरका इन्जिनियर उदय श्रेष्ठले सुर्खेत विमानस्थलको अहिलेको धावनमार्गको उत्तरतर्फ विस्तार गर्दा सहज हुने बताए । उनले दक्षिणतर्फ काँक्रेविहारको डाँडाले समस्या पर्नेभएकोले कठिन हुने र उत्तरतर्फ गराउँदा सहज हुने जनाए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष प्रकाश अधिकारी, बरिष्ठ उपाध्यक्ष हर्ष्विक्रम खड्का, महासचिव लक्ष्मण कँडेल, कोषाध्यक्ष भद्र भण्डारी, पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष ललित बसेललगायतले भाडा दर महँगो हुँदा ५० प्रतिशतभन्दा बढी यात्रु नेपालगन्जबाट उड्ने भएकोले भाडा दर केही समायोजन गरे त्यो संख्या सुर्खेतबाट उड्ने बताए । यद्यपि दैनिक दुई उडान हुने भएपछि प्रदेशका बासिन्दाहरुलाई सहज हुने उनीहरुको भनाई छ ।