४ जेष्ठ २०८१, शुक्रबार

बाढी पहिरोले कर्णालीका ४३ जनाको मृत्यु


सुर्खेत । मनसुन सुरु भएयता बाढी पहिरोमा परि कर्णालीमा ४३ जनाले ज्यान गुमाएका छन् । अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परि उनीहरूले ज्यान गुमाएका हुन् । यसबाट सबैभन्दा बढी कालीकोट प्रभावित भएको छ । कालीकोटमा वैशाखयता बाढी पहिरोमा परि २१ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै जाजरकोटमा १५, रुकुम पश्चिममा चार, सुर्खेत, दैलेख र सल्यानमा एकरएकजनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कालीकोटमा सात र जाजरकोटमा दुई जना बेपत्ता भएका छन् । कालीकोटमा नौ, जाजरकोटमा सात, दैलेख र रुकुम पश्चिममा ६÷६ जना घाइते भएका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।

बाढीपहिरोले ८० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । सुर्खेत पाँच, दैलेख ११, जाजरकोट ६, कालीकोट १३, रुकुम पश्चिम ६, हुम्ला ३८ र मुगुमा एउटा घरमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बास्तोलाले जनाए । यस वर्षको वर्षामा करिब तीन करोड ६७ लाख ३९ हजार सात सय रूपैयाँ बराबर धनमाल क्षति भएको बताइएको छ । एकहजारभन्दा बढी घर विस्थापित भएका छन् । प्रदेश सरकारले भने विपदबाट भएको क्षतिको तथ्यांक राखेको छैन ।

जसले सरकारलाई आफ्नै संयन्त्र परिचालनमा समस्या भएको छ । ‘कुन–कुन गाउँ जोखिम क्षेत्र हुन् छुट्याउनु पर्दथ्यो,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले भने, ‘त्यसरी गएको भए जोखिम बस्तीलाई सार्न सकिन्थ्यो ।’ जसले गर्दा मानवीय र धनजनको क्षति कम हुने उनको भनाइ छ । जोखिम बस्तीको पहिचान नहुँदा कर्णालीमा मानवीयसँगै धनजनको क्षति भएको छ ।

सूचना प्रणालीको अभाव भएको उनले जनाए । साथै विपद् व्यवस्थापनमा तीन तहका सरकारबीच समन्वय अभाव देखिएको छ । समन्वय नहुँदा राहत वितरणदेखि उद्दार कार्यसम्मको काम केही प्रभावित भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्राकृतिक विपदबाट पूर्णरूपमा घर क्षति भएका परिवारलाई कर्णाली प्रदेश सरकारले प्रतिघरपरिवार आवास निर्माणका लागि एक लाख रूपैयाँ राहतस्वरूप दिने भएको छ ।

शनिबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले विपदबाट क्षति भएका परिवारका लागि तीन महिनासम्म पुग्ने खाद्यान्न उपलब्ध गराउने सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् । उनका अनुसार यसले पीडितलाई केही राहत महसुस हुनेछ ।