४ जेष्ठ २०८१, शुक्रबार

सबै प्रकारका परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्को स्वीकृति


काठमाडौँ । सबै प्रकारका परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । कोरोना संक्रमणको सुरुवात भएसँगै गत चैत्रयता निर्धारित परीक्षा स्थगित भएकामा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरेर त्यस्ता परीक्षा सञ्चालन गर्न स्वीकृति दिइएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

मन्त्रिपरिषद्को असोज १९ गतेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सबै परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको मन्त्री ज्ञवालीले बताए ।

‘नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएको जनस्वास्थ्य एवं सुरक्षासम्बन्धि मापदण्डहरू पूर्णरूपमा पालना गर्ने गरी परीक्षासम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरूलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरू सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको छ,’ उनले भने ।