२० बैशाख २०८१, बिहीबार

अस्पताल निमार्णमा नागरिकको आपत्ति


कालीकोटः जिल्लाको रास्कोट नगरपालिकाले अर्को अस्पताल निमार्णका लागि ठेक्का गर्नका लागि सूचना गरेको भन्दै स्थानीय नागरिकले आपत्ति जनाएका छन् ।
रास्कोट नगरपालिकाले १५ शैयाको अस्पताल आफ्नो मातहतमा ल्याएको केही दिनभित्र अर्को अस्पताल निमार्णका लागि सूचना गरेको भन्दै त्यहाँका नागरिकले आपत्ति जनाएका हुन् । नगरपालिकाले २२ करोड २० लाखमा अस्पताल निमार्णका लागि राजधानी दैनिकमा सूचना प्रकाशित गरेको थियो । सूचना प्रकाशित भएको स्थानीय नागरिकले जानकारी पाएपछि अर्को अस्पताल निमार्ण गरिनु आपत्तिजनक भएको प्रतिक्रिया दिएका छन् ।
रवी फाउण्डेशन र सहयोगी निकायको सहयोगले रास्कोटमा १५ शैयाको सामुदायि अस्पताल निमार्ण भएर नगरपालिकालाई हस्तान्तरण गरिएको केही दिनमै सूचना प्रकाशित हुनु कमिशनको खेल सुरु भएको नागरिक समाजका अगुवा प्रेमराज सिम्खाडाले बताए । उनले विभिन्न निकायको सहयोगमा निमार्ण गरिएको अस्पतालको स्तरबृद्धि गर्नुपर्नेमा अर्को २२ करोडको अस्पताल निमार्णका लागि सूचना प्रकाशित गर्नुमा कमिशनकै लागि हुन सक्ने बताए ।
१५ शैयाको अस्पताललाई राम्रोसंग सुचारु गरेर रास्कोटका नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिनु छोडेर अर्को अस्पताल बनाउने नाममा सूचना प्रकाशित गरेकाले आफुहरुले विरोध गरेको हंशराज न्यौपानेले बताए । नागरिक लगानीबाट निमार्ण गरिएको अस्पताललाई कमजोर बनाउन नगरपालिकाले अर्को बखेडा झिकेको नागरिकको आरोप छ ।
६ करोडमा निमार्ण गरिएको अस्पताल हुदाहुदै रास्कोटमा अर्को अस्पतालको आवश्यकता नभएको नागरिकले बताए । उनीहरुले अहिले रास्कोटमा अर्को अस्पतालाको आवश्यकता छैन भएको अस्पतालमा भौतिक पूर्वाधारदेखि अस्पतालमा चाहिने उपकरण खरिद गरि गुणस्तरीय सेवा दिएको भए त्यही राम्रो हुन् उनहीहरुको भनाई छ ।
रास्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले अस्पतालको ठेक्काका लागि सूचना प्रकाशित गरेको बताए । उनले अस्पताल निमार्णका लागि सूचना गर्न परिपत्र आए पश्चात आफुले सूचना प्रकाशित गरेको बताए । अहिले रास्कोटमा जनताको लागनीमा निमार्ण भएको अस्पतालले सेवा दिदै आएको छ ।
जनताको लगानीबाट निमार्ण भएको अस्पतालको स्तरबृद्धि गर्न छाडेर नगरपालिकाले अर्को अस्पताल बनाउन ठेक्का गर्नुको पछाडि भ्रष्टाचार गर्न खोजेको नागरिकको आरोप छ । यस विषयमा बुझ्न खोज्दा नगरप्रमुखले फोन रिसिभ गर्नुभएन ।