५ जेष्ठ २०८१, शनिबार

जनप्रतिनिधिलाई उपचार खर्च


कालीकोटः शुभकालिका गाउँपालिकाले वडा अध्यक्षदेखी वडा सदस्यलाई आर्थिक सहायता भन्दै एक लाख ६० हजार बाडेँको महालेखा परिक्षकको प्रतिवेदनले देखाएको छ ।
६ जना जनप्रतिनिधिहरुलाई आर्थिक सहायता भनी दिएको रकम गैर कानुनी भएको भन्दै महालेखा परिक्षकको कार्यालयले अनियिमितता देखाएको छ । आर्थिक वर्ष २०७४÷७५ को महालेखा परिक्षकको प्रतिवेदनमा व्यवस्थामै नभएर गैर कानुनी रुपमै जनप्रतिनिधिहरुलाई औषधी खर्च वाफत २० हजार देखी माथी रकम दिएको भन्दै अनियमितता देखाएको हो । वडा अध्यक्ष केशन बहादुर शाहीलाई २५ हजार, कार्यपालिका सदस्य भिमकौरा शाहीलाई २० हजार, कार्यपालिका सदस्य मनशोभा शाहीलाई २० हजार, कार्यपालिका सदस्य बेलशा वि.कलाई २५ हजार, कार्यपालिका सदस्य अमृता चौलागाइ २० हजार र कार्यपालिका सदस्य कर्णजीत वि.क लाई ५० हजार औषधी खर्च वापत दिएको रकम अनियमितता भएको मलेपको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पोशाक खरिदमा पनि अनियमितता
यस्तै मलेपले शुभकालिका गाउँपालिकाका जनप्रतिनिधिहरुले लगाएका पोशाकमा पनी वेरुजु देखाएको छ । महालेखा परिक्षकको वार्षिक प्रतिवेदनमा गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा व्यवस्थामै नभएको सुविधा प्रयोग गरेको भन्दै अध्यक्षदेखी वडा सदस्यलाई गाउँपालिकाको वजेटमा बितरण गरिएको पोशाकमा अनियमितता भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपालको संविधानको धारा २२७ मा गाउँसभा र गाँउसभाका सदस्यले पाउने सुविधा प्रदेश कानुन बमोजिम हुने उल्लेख छ । कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाका सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ मा पदाधिकारीहरुलाई पोशाक सुविधा पाउने व्यवस्था छैन । गाँउपालिकाले ४३ जना सभाका सदस्यहरुलाई पोशाक खर्च उपलब्ध गराएको देखिएकोले कानुन विपरित प्रदान गरिएको पोशाक सुविधा असूल गर्नुपर्ने मलेपले देखाएको छ । पोशाक खर्च भन्दै गाउँपालिकाले खर्च गरेको ८ लाख ५१ हजार ४ सय अनियमितता भएको मलेपको प्रतिवेदनमा उल्लेख गरिएको छ ।