५ जेष्ठ २०८१, शनिबार

मोटो रकम असुल्ने वडाध्यक्षले गरेनन् सापटी फिर्ता


कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिका–५ मा मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत पाउनुपर्ने रकम अझै उपभोक्ता समितिले पाउन सकेका छैनन् ।
मुख्यमन्त्री रोजागार कार्यक्रममा व्यापक अनियमितता भएको थियो । वडाध्यक्ष गगनबहादुर फडेरा र केही कर्मचारीले तत्काल फिर्ता गर्ने भनिएको रकम पनि अहिलेसम्म फिता हुन नसकेको उपभोक्ता समितिका सचिव वीरबहादुर सहकारीले बताए । स्थानीय राजनीतिक दलका अगुवाहरुले योजनामा आएको रकम सापटी भनेर लगेपनि अहिलेसम्म फिर्ता गरेका छैनन् ।
केही रकम मुख्यमन्त्री रोजगार कार्यक्रम संचालन गर्ने प्राविधिक र वडाध्क्षले झ्वाम पारेका थिए । मुख्यमन्त्री रोजगार कार्यक्रममा निकासा भएको ५१ लाख १७ हजार ९ सय साठी मध्येबाट सामान खरिदमा ४ लाख ६६ हजार खर्च भनि किर्ते काम गरिएको थियो । प्राविधिक खर्च भन्दै ५ लाख ५८ हजार रकम अनियमितता गरिएको थियो । उपभोक्ता समितिको व्यवस्थापन भन्दै २ लाख ९७ हजार खर्च भनि व्यापक अनियमितता गरिएको नागरिकको आरोप थियो ।
त्यसैमा उपभोक्ता समितिले सापटी भन्दै कामदारको रकम स्थानीय राजनीतिक दललाई बाढेको पाइएको छ । उपभोक्ता समितिले असोज १ गते इलाका प्रहरी कार्यालय कुमालगाउँमा लिखित रुपमा रकम असुल गरिदिन निवेदन दिएको छ । निवेदनमा अमरबहादुर शाहीबाट २ लाख, नरहरिनाथ गाउँपालिका–५ का वडाध्यक्ष गगनबहादुर फडेराबाट ३ लाख ५४ हजार र पवनबहादुर सहकारीबाट ५१ हजार असुल गरिदिन प्रहरीलाई निवेदन दिएको छ ।
एकमहिनाभन्दा बढी वितिसक्दा पनि आफुहरुले सापटी भनेर दिएको रकम नपाएको उभोक्ता समितिले जनाएको छ ।