५ जेष्ठ २०८१, शनिबार

जाजरकोटमा एक गाग्री पानीको ५ रुपैयाँ


जाजरकाेट । जाजरकोटमा भेरी नदीको किनारमै कुदुको विशाल फाँट  छ । सिँचाइ अभावमा यहाँ वर्षेबाली मात्रै लगाइन्छ । हेर्दा सुन्दर र आकर्षक देखिए पनि झन्डै एक हजार घरधुरी भेरी नगरपालिका–१३ कुदुका बासिन्दा ५ दशकदेखि स्वच्छ खानेपानीको सुविधा पाउनबाट वञ्चित छन् ।

उपयुक्त योजनाको अभावमा वर्षौंदेखि खानेपानीको कहर भोग्दै आएको स्थानीय अम्बिकाप्रसाद आचार्यले बताए । ‘हाम्रा लागि योजना निर्माण चुनावको नारा मात्र भयो,’ उनले भने, ‘पानीका लागि पुस्तौंदेखि दुःख भोग्दै आइरहेका छौं ।’ उनका अनुसार नदी तल र गाउँ माथि पर्दा खानेपानीको योजनाले सार्थकता पाउन नसकेको हो ।

भेरी नगरपालिकाले २ वर्षअघि ४४ लाख रुपैयाँ खर्चेर कुदु स्वास्थ्यचौकी परिसरमा डिप बोरिङमार्फत पानी निकालेको थियो । तर विद्युत् महसुलका नाममा एक गाग्री पानीका लागि ५ रुपैयाँ तिर्नुपर्ने बाध्यता भएको स्थानीय सावित्रा रावतले गुनासो गरिन् । पानीको अभावकै कारण अड्कलेर खानुपर्ने बाध्यता रहेको उनले सुनाइन् । ‘वर्षायाममा आकासेपानी उपभोग गर्छौं,’ उनले भनिन्, ‘अरु समय सधैं पानीको पिरलो हुन्छ ।’ खानेपानी समस्याकै कारण गाउँका अधिकांश शौचालय प्रयोगविहीन छन् । पशुपालन गर्न पनि समस्या भएको उनले गुनासो गरिन् ।

भेरी नदीबाहेक गाउँ आसपास पानीको मुहान छैन । भेरी नदीको धमिलो पानीभन्दा डिप बोरिङको पानी सफा हुने भए पनि रातिको १२ बजेसम्म लाइन बसेर पानी ल्याउनुपर्ने बाध्यता भएको स्थानीय अगुवा ध्रुवप्रसाद शर्माले बताए । खानेपानी समस्या समाधानका लागि २ वर्षअघि छहरी–कुदु खानेपानी योजनाको काम अघि सारिएको थियो । तर भेरी नगरपालिकाको ४२ लाख, वृहत जलाधार कार्यालयको २ लाख र खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयको ४ लाख रुपैयाँ खर्च भएको योजना अझै अधुरो छ । ‘बजेट विनियोजन गरेर योजनामा लगानी गरे पनि अनुगमन नहुँदा बालुवामा पानी हालेजस्तै भएको छ,’ उनले भने, ‘एक त बजेट आउँदैन, आए पनि काम गुणस्तरीय हुँदैन ।’

कार्यालयमा एउटा योजनाका लागि १र२ करोड रुपैयाँ मात्र बजेट आउने भएकाले कुदुमा बृहत खानेपानी योजना सञ्चालन गर्न समस्या भएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए । ‘हामीकहाँ मर्मत र साना योजनाका लागि मात्र बजेट आउँछ,’ उनले भने, ‘संघीय सरकारका विभिन्न निकायलाई यसबारे जानकारी गराए पनि बेवास्ता भइरहेको छ ।’