५ जेष्ठ २०८१, शनिबार

नेपालगञ्ज–मुगु एकतर्फी हवाई भाडा १२ हजार !


मुगु । मुगुको रारा विमानस्थलमा उडान गर्ने निजी एयरलाइन्सले कार्गोका नाममा दोब्बर भाडा असुल्न थालेका छन् । नेपालगन्जदेखि मुगु आउन यात्रु नभएको भन्दै एयरलाइन्सले एकतर्फी भाडा नै १२ हजार रुपैयाँ लिने गरेका हुन् ।

खाली जहाज बोलाउनुपरेको भन्दै दुवैतर्फको भाडा जोडेर १२ हजार रुपैयाँ लिन थालिएको एयरलाइन्सका कर्मचारीको दाबी छ ।

मुगुदेखि नेपालगन्ज जान प्रतिव्यक्ति ६ हजार ५ सय रुपैयाँ भाडा तोकिए पनि नेपालगन्जबाट मुगु आउने यात्रु नपाइने भन्दै बढी भाडा लिने गरेको रोयल कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र स्वाँरले बताए ।

टिकट पाउन मुस्किल भएपछि महँगो भाडा तिरेर पनि यात्रु जहाज चढ्न पाउँदैनन् । हवाई टिकट नपाएर ४ र ५ दिनसम्म भौंतारिनुपरेको सोरु गाउँपालिका–२ का राजेन्द्र शाहीको भनाइ छ ।

नियम र पद्धतिलाई बेवास्ता गरी निजी एयरलाइन्सले पहुँचवालालाई मात्र टिकट वितरण गर्ने गरेको उनको गुनासो छ । एयरलाइन्सले कार्यालयबाहिरबाटै टिकट वितरण गरिरहेको उनको दाबी छ ।

यता प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले भने महँगो हवाई भाडा नउठाउन निजी एयरलाइन्सलाई पत्राचार गरिए पनि बेवास्ता भएको प्रतिक्रिया दिए ।

नेपाल एयरलाइन्सले नियमित उडान नगर्दा यात्रुहरू मर्कामा परेका छन् । झन्डै १९ महिनापछि गत साता नेपाल एयरलाइन्सले उडान थाले पनि नियमित भएको छैन ।

नेपाल एयरलाइन्सको जहाजले मुगु–नेपालगन्ज उडानमा प्रतियात्रु ५ हजार ३ सय ३५ रुपैयाँ भाडा लिने गरेको छ ।