५ जेष्ठ २०८१, शनिबार

पालिकाको विकासका लागि कर्मचारीको श्रमदान


कालीकोटः जिल्लाको पलाता गाउँपालिकाले गाउँपालिका मातहतका कर्मचारीलाई श्रमदानमा लगाएको छ ।
पालिकाको विकासमा कर्मचारीको भुमिका महत्वपूर्ण हुने भन्दै अस्थायी तथा स्थानी कर्मचारीलाई आ–आफ्नो कार्यक्षेत्रमा विकासका काममा श्रमदान गर्न आग्रह गरेपछि कर्मचारी पनि श्रमदानमा जुटेका छन् । पालिकाको काम बाहेक अन्य समयमा कर्मचारीलाई विकासका काम लाग्न गाउँपालिकाले निर्देशन दिएको छ । पालिकाको निमार्ण र समृद्धिको अभियान आफैँबाट शुरुआत गर्ने उद्देश्यसहित प्रत्येक कर्मचारीलाई गाउँपालिकाको विकासमा लगानी गर्नका लागि अभियान संचालन गरेको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । गाउँपालिका, संघिय तथा प्रदेश सरकारबाट निर्माण हुने योजना र स्थानीय सार्वजनिक सरोकारका कामका लागि कर्मचारीलाई अतिरिक्त समयमा अनिवार्य विकास निमार्णमा जुट्न लगाईएको बमले बताए ।
राज्यको लगानीले मात्र गाउँ र समाजको उन्नति तथा समृद्धिको सपना पूरा नहुने भएकाले यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष बमले जानकारी दिए । लगानी र अनुदानमा बनिरहेका संरचनामा मात्र नभई, गाउँ सरसफाइ, विद्यालय अनुगमन, वन सुरक्षा, पानीका मुहान सफाइ, विद्युत नहर मर्मत भवनका पर्खाल निमार्ण कुलो निमार्णआदि कार्यमा अनिवार्य कर्मचारीले श्रमदान गरेकै हुनुपर्ने नीति बनाइएकोे बमको भनाई छ ।
समाजमा विकासप्रति अपनत्व गराउन र विकास मेरा लागि हो, मैले पनि केही गर्नुपर्छ भन्ने धारणा बनाउनका लागि यो योजनालाई अनिवार्य गरिएको गाउँपालिकाको भनाइ छ ।