५ जेष्ठ २०८१, शनिबार

मुगुः आगलागी पीडितलाई नगरपालिकाले ७५ हजार राहत दिने


सुर्खेत। आगलागीका कारण मुगुको गमगढीमा झण्डै ७५ परिवार विस्थापित भएका छन् । २१ घरधुरीसहित आगलागीबाट ७४/७५ परिवार विस्थापित भएको विवरण संकलन भएको छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंङ्ग शाहीले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट भएको क्षतिबारे यकिन विवरण भने आज मात्रै आउने छ । अग्नि पीडितलाई आज नगरपालिकाले नगदसहित राहत वितरण गर्ने तयारी गरेको पनि उनले बताए । आज दिउँसो प्रति परिवारलाई ५०÷५० हजार रुपैयाँसहित राहत वितरण गरिने उनले जानकारी दिए । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हिजो नै प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गर्ने बताए पनि हिजो उहाँ प्रभावित क्षेत्रमा पुग्नु भएन । उनी आज गमगढी जाने तयारीमा रहेका पनि कर्णाली प्रदेश सरकारले जनाएको छ ।

हिजो अग्नि पीडितलाई रेडक्रसले त्रिपाल वितरण गरेको थियो । आगलागीका कारण बास गुमाएका धेरैजसोले गएको रात आफन्तकोमा बसरे बिताए भने केही त्यहाँ नजिकै रहेका घरमा डेरा खोज्न पुगेका थिए । हिजो राति १२ बजेदेखि लागेको आगोका कारण गमगढीका २१ वटा घरमा पुरै क्षति भएको छ । स्थानीयबासिन्दा, सेना र प्रहरी तत्कालै आगो निभाउन जुटेकाले मध्यराति आगलागी भए पनि मानवीय क्षति हुनबाट जोगिएको थियो । स्थानीय ठिल्ले लामाको घरमा पूजाका लागि बालिएको दियोबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ ।