४ जेष्ठ २०८१, शुक्रबार

कर्णाली करिडोरको पक्की पुल सञ्चालनमा



सुर्खेत । कर्णाली करिडोर अन्र्तगतको कणाली नदीको नरहरिनाथ–८ कालीकोटको खुलालुमा रहेको पक्की पुल सञ्चालनमा आएको छ । कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने पुल सञ्चालनमा आएको हो ।
निर्माण थालेको १२ वर्षपछि कर्णाली करिडोरको पक्की पुल सञ्चालनमा आएको हो । बिसं. २०६६ सालमा हाल नेपाली कांग्रेसका बरिष्ठ नेता तथा तत्कालिन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र ०६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले कर्णाली करिडोरमा रहेको पक्की पुलको शिलान्यास गरेका थिए । दुई पटक शिलान्यास भएको पुल निर्माण ढिलाई भएका कारणले लामो समयपछि सञ्चालनमा आएको छ ।
ठेक्का भएको तिन वर्षमा नै काम सम्पन्न गर्ने गरी २०६६ सालमा कन्काइ जेभीले ठेक्का पाएको थियो । ठेक्का पाएको कम्पनीले २०६९ सम्म पनि काम गर्न नसकेपछिसडक डिभिजन कार्यालय जुम्लाले उक्त कम्पनीको ठेक्का रद्द गरी पुनः ठेक्का गरेको थियो ।
शुरुको पुल निर्माणका लागि १३ करोड लागत निर्माण हुने भनिएको उक्त पुल निर्माण कार्यमा ढिलाई हुँदा १५ करोड ९२ लाख रुपैयाँ पुगेको थियो ।

कर्णाली करिडोरमा पुल नहुँदा यात्रुहरुले सास्ती खेप्नु परेको थियो ।
कर्णाली करिडोरमा पुल सञ्चालन आएपछि अबका दिनमा हुम्ला, मुगु, बाजुरा र कालिकोट जिल्लामा यातायातका साधन सहजै सञ्चालनमा आउने कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘कर्णाली करिडोरमा अब कर्णाली राजमार्गबाट यातायातका साधन सहजै सञ्चालनमा आउने भएका छन् ।’ उनले भने,‘यहाँका नागरिकको दैनिकीमा सहज हुने भएको छ ।’