२० बैशाख २०८१, बिहीबार

जुम्लाको सरस्वती माविमा शिक्षकको आवेदन शुल्क ५ हजार



जुम्ला । जुम्लाको तिला गाउँपाकिा–३ कुडारीस्थित सरस्वती प्राविधिक माध्यमिक विद्यालयले शिक्षक आवेदन शुल्क ५ हजार राखेर विज्ञापन गर्दा सर्वत्र विरोध भएको छ ।

उक्त विद्यालयले करिब दुई वर्षदेखि मावि तथा आधारभूत तहमा रिक्त रहेका लेखा व्यवस्थापनसहित ६ शिक्षक पदको १५ दिनको अवधि राखेर विज्ञापन खुला गरेको छ ।

विद्यालयले प्राविधिक धार सहायक प्रशिक्षक र निमावि तहको शिक्षकका लागि ४र४ हजार तथा मावि शिक्षकका लागि ५÷५ हजार आवेदन दस्तुर तोकेको छ ।

यद्यपि बुधबार मात्र शिक्षक सेवा आयोगले खोलेको मावि तहको शिक्षकको विज्ञापनमा आवेदन दस्तुर १ हजार उल्लेख गरेको छ ।

उक्त विद्यालयले शिक्षक पदका लागि गरिएको विज्ञापनमा आवेदन दस्तुर शिक्षक सेवा आयोग विपरीत तोकिएको शिक्षा मन्त्रालयका शाखा अधिकृत जीवनबहादुर भण्डारीले बताए । ‘शिक्षक सेवा आयोगले प्रावि तहको ५००, निमाविका लागि ८०० र माविका लागि १ हजार मात्र लिन्छ,’ भण्डारीले भने, ‘स्थानीय सरकार कता छ ? यो हदभन्दा बढी भएन र भन्या ?’

त्यस्तै भानुभक्त माध्यमिक विद्यालय बारबर्दिया नगरपालिका–७ बर्दियाका प्रधानाध्यापक करबहादुर बस्नेतले सामाजिक सञ्जालमार्फत ऐन, नियमावली विपरित शुल्क तोक्न नहुने बताए । उनले कुनै पनि विद्यालयले मनोमानी तरिकाले शुल्क लिन नपाइने कानूनी प्रावधान रहेको प्रतिक्रिया दिए । सामाजिक सञ्जालमार्फत नै त्यस्ता विद्यालय प्रशासकलाई कारवाही हुनुपर्ने उनले टिप्पणी गरेका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका प्रमुख मक्कर भण्डारीले उक्त विद्यालयले तोकेको शुल्क मापदण्ड विपरीत भएको बताए । ‘डेढदेखि दुई वर्ष शिक्षक पद रिक्त हुँदा पनि त्यो विद्यालय समन्वय एकाइमा अनुमति लिन आएन,’ भण्डारीले भने, ‘उक्त विद्यालयले यसअघि अनुमति नलिएर नियुक्ति गरेका बिएस्सी एजी र तल्लो तहका शिक्षकको जागिर धरापमा छ ।’

सरस्वती प्राविधिक माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल गिरीले प्रधानाध्यापकको सल्लाहअनुसार आवेदन दस्तुर ५ हजार र ४ हजार राख्ने निर्णय गरिएको जानकारी दिए । त्यस विषयमा प्रधानाध्यापकसँग बसेर पुनःविचार गर्ने उनको प्रतिक्रिया छ ।

प्रधानाध्यापक रामविलास यादवले आफूले नभई विद्यालय व्यवस्थापन समिति बसेर नै निर्णय गरिएको प्रतिक्रिया दिए । ‘विज्ञापन भइसक्यो, अब के गर्ने ?’ यादवले भने, ‘सामाजिक सञ्जालमा गइसकेकोले त्यसैअनुसार परीक्षा लिने त होला ।’ विद्यालयले १५ दिनको अवधि राखेर आवेदन दर्ता समय पुस ९ गतेसम्म राखेको छ ।