२० बैशाख २०८१, बिहीबार

हुम्लाका १२६ सामुदायिक विद्यालय बन्द


सिमकोट । जिल्लाका सातमध्ये ६ वटा गाउँपालिकाका विद्यालय बिहीबारदेखि बन्द भएको छ। गाउँपालिकाले निर्णय गरेर विद्यालय बन्द गरेको हो । चिसो अत्यधिक बढेसँगै विद्यालयमा हिउँदे बिदा दिइएको हो ।

कोरोना भाइरस संक्रमणको कारण विद्यालयले नियमित पठनपाठन गर्न पाएको थियो । जसले गर्दा यसवर्ष हिउँदे बिदा कटौती गरेर विद्यालय सञ्चालन गरिने अभिभावकहरुकाले अपेक्षा गरेका थिए ।

बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले आगामी फागुन १ गतेसम्मका लागि विद्यालयले हिउँदे बिदा दिएको जानकारी दिए । अर्धवार्षिक परीक्षा सञ्चालन गरी त्यसको परीक्षाफल सार्वजनिक गरेर विद्यालय बन्द गरिएको उनले बताए ।

सिमकोट गाउँपालिकाले शिक्षा समितिको बैठकबाट निर्णय गरेर हिउँदे बिदामा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । यता खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले नियमित हिउँदे बिदाअन्तर्गत गाउँपालिकाका सबै विद्यालय बन्द गरिएको बताए । खार्पुनाथमा चार वटा मावि र १३ वटा आधारभूत विद्यालय रहेका छन् ।

कोरोनाको कारण कम समय पठनपाठन भए पनि विद्यालय बन्द गर्नु परेको उनले जानकारी दिए । हिउँदमा चिसो बढेसँगै पढाइ सञ्चालन गर्न कठिन हुने निष्कर्ष निकाल्दै यहाँका विद्यालय बन्द गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक भट्टराईले नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिकाका विद्यालयमा हिउँदे बिदा दिइएको बताए । चंखेली गाउँपालिकाले भने पठनपाठन जारी राखेको छ ।

जिल्लामा कुल १५१ वटा सामुदायिक विद्यालय रहेकोमा १२६ वटा विद्यालय बन्द भएको इकाईले जनाएको छ । यसमा २७ वटा मावि र १२४ वटा आधारभूत विद्यालय रहेका छन् । चंखेलीका २५ वटा विद्यालयमा भने हिउँदभरि नियमित पठनपाठन हुने भएको छ ।

नियमानुसार हिमाली जिल्लाका विद्यालयमा पुस १६ बाट फागुन १ गतेसम्म हिउँदे बिदा (मिनपचास) को प्रावधान रहेको छ । यहाँका विद्यालयहरुले वार्षिक परीक्षा भने आगामी चैत्र महिनामा सञ्चालन गर्नेछन् । यसअघि मङ्सिर महिनामा वार्षिक परीक्षा सञ्चालन गर्ने गरिएको थियो । कोरोनाअघि यहाँ फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो ।