३ जेष्ठ २०८१, बिहीबार

हवाई ढुवानीको भाडा घट्यो


हुम्ला । नेपालगञ्जबाट हुम्लाको सिमकोटसम्मका लागि हवाई मार्गबाट ढुवानी हुने कार्गोको भाडा घटेको छ । प्रतिस्पर्धाका कारण विमान सेवा कम्पनीहरूले ढुवानीको भाडा घटाएका हुन् ।

तारा एयर नेपालगञ्जका कर्मचारी डम्बर रावतले सिमकोटका लागि सामानको ढुवानी दर प्रतिकेजी ११५ रुपियाँ लागू भएको जानकारी दिए । यसअघि तारा एयरले सो सेक्टरको प्रतिकेजी १२५ रुपियाँ लिने गरेको थियो ।

सीता एयर नेपालगञ्जका सन्दीप भण्डारीले प्रतिकेजी १०० रुपियाँमा कार्गो ढुवानी भइरहेको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी जिम्मा पाएको सो एयरलाइन्सले सिम्रिक एयर कार्गोबाट खाद्यान्न प्रतिकेजी १०८ रुपियाँमा ढुवानी गर्दै आएको छ ।

समिट एयरले पनि प्रतिकेजी कार्गो सामानमा ११० रुपियाँमा ढुवानी गरिरहेको छ । सो एयरले यसअघि नेपालगञ्जबाट सिमकोटका लागि प्रतिकेजी १२५ रुपियाँमा ढुवानी गर्दै आएको थियो । नेपाल एयरलाइन्सले पनि कार्गाेको प्रतिकेजी १०० रुपियाँमा सामान ढुवानी गर्दै आएको छ । यो समयमा पहाडी जिल्लामा उडान कम हुने र बढी सिमकोट उडान गर्न एयरलाइन्सले भाडा घटाएका हुन । यसअघि दशैँ, तिहार र पर्यटकीय सिजनमा प्रतिकेजी १४० रुपियाँसम्म असुल्ने गरेको एयरलाइन्सले अहिले भाडादर सामान्य घटाउँदा व्यापारीलाई सहज भएको छ ।