२० बैशाख २०८१, बिहीबार

नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८०, पुरुषभन्दा महिला ६ लाख बढी


काठमाडौं । केन्द्रीय तथ्यांक विभागले २०७८ मा सञ्चालित जनगणनाको तथ्यांक सार्वजनिक गरेको छ । नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको छ ।

वार्षिक जनसंख्या वृद्धिदर ०।९३ प्रतिशत रहेको छ । कूल जनसंख्यामा महिलाको जनसंख्या १ करोड ४९ लाख एक हजार एक सय ६९ अर्थात् ५१.०४ प्रतिशत र पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार तीन सय ११ अर्थात् ४८.९६ प्रतिशत रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

देशको दुई तिहाइ जनसंख्या सहरी क्षेत्रमा बसोबास

२०७८ सालको जनगणनामा शहरी जनसंख्या ६६ दशमलव ०८ प्रतिशत पुगेको छ भने ग्रामीण जनसंख्या छ ३३.९२ प्रतिशत पुगेको छ। राष्ट्रिय जनगणना २०६८ मा १७ दशमलव ०७ प्रतिशत शहरी जनसंख्या र ८२ दशमलव ९३ प्रतिशत ग्रामीण जनसंख्या रहेको थियो । तर, संघीय संरचनापछि स्थानीय तहलाई शहरी र ग्रामीण क्षेत्र अनुसार वर्गिकरण गरी २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा शहरी जनसंख्या ६३ दशमलव १९ प्रतिशत र ग्रामिण जनसंख्या ३६ दशमलव ८१ प्रतिशत पुगेको थियो।

२०६८ सालको जनगणनाको समयमा ५८ वटा मात्र नगरपालिका रहेकोमा सोही अनुसार शहरी जनसंख्याको विश्लेषण गरिएको थियो। नेपाल सरकारबाट घोषित २९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई शहरी क्षेत्रको जनसंख्या र सो बाहेकको ४६० गाउँपालिकामा रहेको जनसंख्यालाई ग्रामीण क्षेत्रको जनसंख्या मानी ग्रामीण तथा शहरी जनसंख्याको वर्गीकरण गरिएको छ।