१९ बैशाख २०८१, बुधबार

एमाले छाडेका शाहीलाई माओवादी केन्द्रले टिकट दिँदै


सुर्खेत । दैलेखका क्षेत्र नं.–२ (ख) मा नेकपा (माओवादी केन्द्र)ले शनिबार मात्रै एमाले परित्याग गरेका योगेन्द्र शाहीलाई चुनाव लडाउने भएको छ । त्यसका लागि शाही काठमाडौंमा माओवादी केन्द्रका उच्च तहका नेताहरुसँग छलफलमा छन् ।
उनले शनिबार साँझ मात्रै एमाले परित्याग गरेको घोषणा गरेका थिए । उनी घनश्याम भुसाल निकट मानिन्छन् । ‘ म अहिले त्यही कुराको छलफलमा छु,’उनले भने,‘ एक घण्टामा निष्कर्ष आउँछ ।’
शाहीले एमालेबाट प्रदेश सभाको लागि टिकट नपाएका कारण एमाले परित्याग गरेका थिए । यता माओवादीबाट सिफारिसमा परेका उपेन्द्र कुमार रावत ‘सुशिल’ लाई ब्याक गराउने गरि माओवादी नेताहरु छलफलमा रहेको छन् । यो सँगै दैलेख माओवादीमा नयाँ तरङ्ग आएको छ ।
रावतले आफूनै उम्मेदवार बन्ने र गठबन्धनबाट पनि सो क्षेत्र माओवादीले नै पाएकोले चुनाव प्रचार–प्रसारको तयारी गरिसकेका थिए । माओवादी केन्द्र कर्णाली प्रदेशका इञ्चार्ज कालिबहादुर मल्लले शाहीलाई नै उम्मेदवार बनाउने संकेत गरे । उनले भने,‘ सबै साथीहरुको राय, सुझावले शाही बौद्धिक छवि भएको नेता भएकाले उम्मेदवार बनाउनेबारे छलफल भइरहेको छ । बाँकी केन्द्रबाट आउने कुरा भयो ।’