२ कार्तिक २०८१, शुक्रबार

पत्रकार महासंघ कर्णाली प्रदेश समितिकाे साधारण सभा कालीकाेटमा हुदैं


कालीकोटः नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश कार्य समितिको साधारण सभा पहिलोपटक कालीकोटमा आयोजना हुने भएको छ ।
महासंघको प्रदेश कार्यसमितिको आयोजना तथा कालीकोट शाखाको आथित्यतामा चैत्र १८ र १९ गते साधारण सभा कालीकोटको नरहरिनाथ गाउँपालिकामा रहेको सुनथराली विमानस्थलमा आयोजना गर्न लागिएको हो । साधारण सभाका लागि विभिन्न समिति र उपसमितिहरू निर्माण गरी महासंघ तिव्र तयारीमा लागेको महासंघले जनाएको छ ।
साधारण सभाको उद्घाटनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, संघिय सरकारका संचारमन्त्री, प्रदेश सरकारका मन्त्री, राष्ट्रिय दलका प्रमुख एवम् प्रतिनिधि, प्रतिनिधि र प्रदेशसभा सदस्यहरु, कालीकोटस्थित स्थानीय तहका प्रमुखहरू र विभिन्न संघ संगठनका प्रमुखहरूको सहभागिता रहने महासंघले जनाइएको छ ।
कालीकोटको पहिचान भाषा संस्कृतिको जर्गेना, पर्यटकीय स्थलको प्रचार प्रसार र प्रवद्धनका लागि इतिहासमै पहिलो पटक महासंघको साधारण सभा कालीकोटमा हुने भएको हो । २०४२ सालदेखि निमार्ण कार्य सुरु गरिएको कालीकोटको पहिचान झल्काउने सुनथराली विमानस्थलमा महासंघको साधारण सभा गर्न लागिएको हो । ३६ जना मजदुरले आफ्नो ज्यानको आहुति दिएको सुथराली विमानस्थलमा महासंघको साधारण सभा हुने भएपछि कालीकोट बासी खुसी भएका छन् ।
महासंघको साधारण सभा सम्पन्नका लागि जिल्ला समन्वय समिति र कालीकोट जिल्लाका ९ वटै स्थानीय तहले ऐक्यवद्धता जनाएका छन् । साधारण सभाबाटै महासंघको आगामी भावी कार्ययोजना निर्माण समेत गरिने महासंघका महासचिव खगेन्द्रप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार, ‘साधारण सभामा महासंघका १० जिल्ला शाखा, १० प्रदेश कार्यसमिति गरी ३ सय भन्दा बढी सदस्यको सहभागिता हुने छ ।’
साधारणसभाका लागि आर्थिक दायित्व प्रदेश समितिले लिएको छ । महासंघले साधारणसभा सफल पार्नका लागि तीन तहका सरकारसँग आर्थिक सहयोगका लागि समेत अनुरोध गरेको महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष गणेशकन्चन भारतिले जानकारी दिए । महासंघको साधारण सभा सम्पन्न गर्नका लागि स्थानीय सरकारको समेत दायित्व बोध हुने भएकोले कालीकोटका स्थानीय तहसँग आर्थिक सहयोगका लागि अनुरोध गरेको कोषाध्यक्षले बताए ।
करिव ४ दशकदेखि निमार्ण हुन नसकेको सुनथराली विमानस्थलको निमार्ण कार्य भर्खरै सम्पन्न भएको छ । अहिले उक्त विमानस्थलमा नियमित उडानका लागि कसैले पहल नगरेको भएपछि महासंघले नियमित उडानका लागि जोडदार आवाज उठाउने भएकाले साधारणसभा सुनथरालीमा आयोजना गर्न लागिएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए ।
साधारणसभाका लागी आउने सदस्यहरुलाई खान र बस्नको व्यवस्था नरहरिनाथ गाउँपालिकाले गर्ने भएको छ, महासंघको साधारणसभा सम्पन्नका लागि जिल्लाका ९ वटै स्थानीयले तहले आर्थिक सहयोग गर्ने बचनवद्धता गरेका छन् ।