प्राकृतिक प्रकोप पीडित किसानले राहत पाउने
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को भदौ र असोज महिनामा प्राकृतिक प्रकोपबाट क्षति व्यहोरेका कृषकहरुलाई रु.छ करोड राहत प्रदान गर्ने भएको छ । बुधबार मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले भदौ र असोज महिनामा अविरल वर्षा तथा हावाहुरीबाट क्षति व्यहोरेका कर्णाली प्रदेशका कृषकहरुको राहतका दिने घोषणा गरेको हो ।
रु. छ करोड बजेट स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले बताए । ‘बालीनाली तथा पशुपंक्षीमा क्षति भोगेका कृषकहरुलाई सरकारले राहत प्रदान गर्नेछ ।’ उनले भने,‘त्यसका लागि बजेट कर्णाली प्रदेशको भूमी व्यवस्था, कृषि तथा सरकारी मन्त्रालयमा पठाउने निर्णय भएको छ ।’
क्षति २५ करोड राहत छ करोड
कर्णाली प्रदेशमा भदौ र असोजमा परेको अविरल वर्षा तथा हावाहुरी लगायत प्राकृतिक प्रकोपवाट कर्णालीका १० जिल्लामा २५ करोडको बालीनाली तथा पशुपन्छीहरु क्षति पुगेको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.नरहरिप्रसाद घिमिरेले बताए । ‘कर्णालीका दश वटै जिल्लामा रहेका कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशुपंक्षी कार्यालयले पठाएको रिर्पोट अनुसार २५ करोड बराबरको क्षति भएको छ ।’ उनले भने,‘यो बालीनाली भएको क्षति अनुसारको रकम त हैन् । केही भरिपुरण मात्रै हो ।’
कर्णालीमा भदौ र असोजमा आएको बाढीपहिरो लगाएतका कारणले बालीमा पुगेको सचिव घिमिरेले बताए । ‘यो वर्ष पशुचौपायामा लम्पी स्किन रोगले ठुलो क्षति गरेको छ ।’ उनले भने,‘पुरै राहत दिने हो धेरै रकम चाहिन्छ । त्यसैले थोरै रकम किसानले पाउने छन् ।’
राहत वापतको रकम स्थानीय जिल्लामा रहेका मातहतका कार्यालयमार्फत स्थानीय तहहरुले संकलन गरेको क्षतिको विवरण आधारमा स्थानीय तहले पाउने मन्त्रालयले जनाएको छ ।
कर्णालीपाटी । २५ आश्विन २०८०, बिहीबार ११:२८