भूकम्पका ४८ घाइते निको भएर घर फर्किए
बाँके। जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका ६ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
“सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ । अब भेरीमा शल्यक्रिया गरिएका ६ बिरामीमात्रै हुनुहुन्छ,” उनले भने, “उहाँहरुको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।”
भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो । बिरामी निको भएर घर फर्किएपछि उक्त वार्ड खाली गराइएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।
भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न ल्याइएका ५८ जनामध्ये यसअघि ४८ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किएका छन् । तीनजनालाई काठमाडौं प्रेषण गरिएको थियो भने एकजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
निको भएर घर फर्किएका बिरामीलाई घरसम्म पुग्न विभिन्न सङ्घ संस्थाको समन्वयमा निःशुल्क यातायातको व्यवस्था गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । यही कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो ।
उक्त भूकम्पमा १५४ जनाको मृत्यु भएको छ भने ३४६ घाइते भएका छन् । भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्ण रुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको थियो ।
कर्णालीपाटी । २८ कार्तिक २०८०, मंगलवार १९:०३