७ मंसिर २०८१, शुक्रबार

भुकम्पले पैँतालिस स्वास्थ्य संस्थामा क्षति


सुर्खेत । जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति पुगेको छ । स्वास्थ्य संस्थाको भवनमा क्षति पुगेपछि अस्थायी टहरा बनाएर सेवा प्रदान गरिएको छ । विद्यालय दसैंतिहार बिदामा बन्द रहेका विद्यालय त्यसपछि कसरी सञ्चालन गर्ने भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिमा छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जाजरकोटमा छ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रुकुमपश्चिमम दुई वटा पूर्ण र २२ वटा आंशिक गरी २४ वटा र सल्यानमा तीन वटा पूर्ण क्षतिसहित कुल ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार गाउँका धेरैजसो आधारभूत स्वास्थ्य संस्था र स्वास्थ्य चौकी भूकम्पले क्षति पुर्‍य ाएको छ । स्वास्थ्य संस्थाको क्षति अवस्था अनुगमन गर्ने काम भइरहेकोले यो सङ्ख्या केही बढ्ने जनाइएको छ ।
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाको भवनमा क्षति पुगेपछि सेवा प्रवाहमा समस्या भएको छ । भवन क्षति भएकोमा अस्थायी रूपमा बाहिर त्रिपाल राखेर स्वास्थ्य सेवा दिन सुरु गरिएको निर्देशक खड्काले बताउनुभयो । भूकम्पपछि चिसो मौसम बढ्दै गएकोले बालबालिका, गर्भवती र ज्येष्ठ नागरिक बढी प्रभावित हुने, पानीबाट लाग्न सक्ने रोगको प्रकोप, मानसिक समस्या बढ्न सक्ने सम्भावना रहेको उहाँको भनाइ छ ।