पठनपाठनका लागि आठबिसकोटमा अस्थायी सिकाइ केन्द्र
रुकुमपश्चिम । जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते गएको भूकम्पको कारण विद्यालय भवनमा क्षति पुगेपछि अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन हुन थालेको छ ।
रुकुमपश्चिमका केहि विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण भईसकेको छ भने विभिन्न विद्यालयमा सिकाइ केन्द्र निर्माणको क्रममा छ । दसैं, तिहार र छठपर्वको अवसरमा बिदा भएका विद्यालयहरु सोमबारबाट खुलेसँगै अस्थायी सिकाइ केन्द्र धमाधम निर्माण हुन थालेका छन् ।
भूकम्पबाट रुकुमपश्चिममा बढी प्रभावित आठबिसकोट नगरपालिकामा १३९ वटा अस्थायी सिकाइ केन्द्र निर्माणको अन्तिम चरणमा रहेको नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीको पठनपाठनलाई सहज बनाउने उद्देश्यका साथ अस्थायी सिकाइ केन्द्रलाई प्राथमिकता दिइएको हो ।
अस्थायी सिकाइ केन्द्र निर्माणका लागि युनिसेफले नगरपालिकासँग सहकार्य गरेको नगर प्रमुख केसीले बताए । युनिसेफले एउटा केन्द्रका लागि दुई वटा त्रिपाल, १० किलो प्लाष्टिक, ३२.५ वर्गमिटर पि फर्म र विद्यार्थीहरुका लागि आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध गराएको छ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख इन्द्रबहादुर विष्टका अनुसार भूकम्पले आठबिसकोटमा मात्रै ११ जना विद्यार्थीको मृत्यु भएको छ । विष्टले ११ विद्यार्थी, एक जना कार्यालय सहयोगी गुमाएको बताए । उनले नगरपालिकाभित्र रहेका ६४ विद्यालयमध्ये ५३ वटा विद्यालय, २५२ वटा कक्षाकोठा, ७६ वटा शौचालय र नौ हजार ८४७ जना विद्यार्थी प्रभावित भएको जानकारी दिए ।
शाखा प्रमुख विष्टले कक्षा १ देखि १० सम्मका एक हजार ४४१ किताबका सेट विभिन्न विद्यालयबाट माग भई आएको जनाए । नगरपालिकाले यो समस्या समाधान गर्ने उनको भनाइ छ । अहिले नगरपालिकाले १३९ वटा सिकाइ केन्द्र बनाएर पठनपाठन सुरु गर्ने भएको छ ।
रुकुमपश्चिममा भूकम्पमा परेर १८ जना विद्यार्थीको मृत्यु भएको छ । सामाजिक विकास कार्यालय रुकुमपश्चिमको तथ्याङ्क अनुसार एक जना विद्यालय कर्मचारीको मृत्यु भएको छ भने एक जना विद्यार्थी र एकजना शिक्षक घाइते भएका छन् । भूकम्पका कारण जिल्लाका ११ हजार ९५२ विद्यार्थी प्रभावित भएका छन् ।
कर्णालीपाटी । ५ मंसिर २०८०, मंगलवार १४:३५